

गृहमन्त्री सुधन गुरूङ द्वारा नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण, “निर्धक्क भएर जिम्मेवारी निभाउन” निर्देशन
काठमाडौं:
गृहमन्त्री सुधन गुरूङ ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरीलाई अझ निर्धक्क, व्यावसायिक र नागरिकमैत्री भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङलाई दान बहादुर कार्की सहितका वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए। निरीक्षणका क्रममा उहाँले अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, आर्टिफिसियल इन्टेलिजेन्स तथा एड्भान्स एनालिटिक्स सेल, डाटा सेन्टर र पोलीग्राफ शाखाको अवलोकन गर्नुभयो।
निर्देशन सम्बोधनका क्रममा गृहमन्त्री गुरूङले सीमित स्रोत–साधनका बाबजुद प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको प्रशंसा गर्दै आगामी दिनमा अझ आत्मविश्वासका साथ काम गर्न आग्रह गर्नुभयो। “प्रहरीको काममा कुनै पनि तहबाट हस्तक्षेप हुँदैन,” उहाँले स्पष्ट पार्दै संगठनलाई स्वतन्त्र र जिम्मेवार ढंगले अघि बढ्न प्रोत्साहित गर्नुभयो।
उहाँले प्रहरी–नागरिक सम्बन्ध सुधार अपरिहार्य रहेको उल्लेख गर्दै शिष्ट व्यवहार, सहज सेवा र विश्वासिलो कार्यशैलीमार्फत जनतासँगको दूरी घटाउनुपर्नेमा जोड दिनुभयो। साथै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो।
विपद् व्यवस्थापनमा अग्रपंक्तिमा खटिने प्रहरीलाई थप सशक्त बनाउन आवश्यक तालिम, प्रविधि र स्रोत–साधन उपलब्ध गराइने प्रतिबद्धता जनाउँदै गृहमन्त्री गुरूङले संगठनको आधुनिकीकरण र प्रविधिमैत्री विकासलाई प्राथमिकता दिइने बताउनुभयो।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले कठिन परिस्थितिमा पनि प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै उच्च प्रशंसा गर्नुभयो। उहाँले बदलिँदो परिवेशअनुसार कार्यशैली सुधार गर्दै छिटो, प्रभावकारी र परिणाममुखी सेवा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
यसैगरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले संविधान र कानुनको परिधिमा रही मानवअधिकारको सम्मान गर्दै “सत्य, सेवा, सुरक्षण” को मर्मअनुसार प्रहरी परिचालन भइरहेको बताउनुभयो। गृहमन्त्रीबाट प्राप्त निर्देशनले संगठनको मनोबल थप उच्च भएको उल्लेख गर्दै आगामी कार्यसम्पादन अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
निरीक्षणका क्रममा राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको संरचना, जनशक्ति, अपराध अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय लगायतका विषयमा विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रममा केन्द्रदेखि सातै प्रदेशसम्मका प्रहरी इकाइहरूको भर्चुअल सहभागिता रहेको थियो।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



