आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कमाण्डो तालिम दीक्षान्त सम्पन्न

काठमाडौं। नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहमा सञ्चालन गरिएको ११औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह बुधबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की रहेका थिए।

समारोहमा महानिरीक्षक कार्कीले तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुका साथै प्रशिक्षकहरू र तालिम सफल पार्न योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रशंसा–पत्र वितरण गर्नुभयो। यसै अवसरमा उहाँले महाविद्यालय परिसरमा नवनिर्मित “आर्म ब्याज” नमुना स्तम्भको अनावरण पनि गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले शारीरिक तथा मानसिक रूपमा चुनौतीपूर्ण भए पनि गौरव गर्नलायक यस तालिम सफलतापूर्वक पूरा गरेकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिनुभयो। उहाँले तालिमका क्रममा आर्जन गरिएको ज्ञान, सीप, आत्मविश्वास र साहसले देशको आन्तरिक सुरक्षा सुदृढ बनाउन, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रभावकारी भूमिका खेल्न, साथै आतंकवाद नियन्त्रण र विशिष्ट व्यक्तिको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले तालिमबाट प्राप्त सीप र अनुभवले प्रहरीको व्यावसायिक जीवन मात्र नभई व्यक्तिगत जीवनका विभिन्न पक्षमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै दीक्षित प्रशिक्षार्थीहरूलाई अनुशासन, समर्पण र जिम्मेवारीपूर्ण आचरणका साथ सेवा गर्न निर्देशन दिनुभयो।

उक्त दीक्षान्त समारोहले नेपाल प्रहरीको व्यावसायिक दक्षता अभिवृद्धि र विशेष सुरक्षा क्षमताको सुदृढीकरणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
244 Shares