पत्रकार काफ्लेलाई धम्की प्रकरणः महासंघको कडा आपत्ति, कारबाहीको माग

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले जनरक्षा डटकमका सम्पादक राम शरण काफ्लेमाथि आएको धम्कीप्रति गम्भीर आपत्ति जनाएको छ। प्रकाशित समाचारकै विषयलाई लिएर पत्रकारलाई धम्क्याइएको घटनाले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती थपिएको महासंघको ठहर छ।

समितिले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा कुनै समाचारप्रति असहमति भए त्यसका लागि कानुनी उपचारका प्रशस्त विकल्प रहेको उल्लेख गरिएको छ। प्रेस काउन्सिल नेपाल, अदालतमार्फत खण्डन वा प्रतिवाद  गर्न सकिने व्यवस्था हुँदाहुँदै पत्रकारलाई सीधै धम्की दिनु अस्वीकार्य र निन्दनीय कार्य भएको महासंघले जनाएको छ।

धनुषामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ सई सागर राणासम्बन्धी समाचार प्रकाशनपछि सम्पादक काफ्लेलाई धम्की दिइएको घटनालाई महासंघले प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको रूपमा व्याख्या गरेको छ। “समाचार सही वा गलत भन्ने बहसभन्दा माथि उठेर आलोचना सहन नसक्ने प्रवृत्ति देखिनु चिन्ताजनक छ,” विज्ञप्तिमा उल्लेख छ।

महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै पत्रकारलाई सुरक्षित र स्वतन्त्र वातावरणमा काम गर्न दिन र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ।

उपत्यका प्रदेश समितिले यस्ता धम्कीपूर्ण गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न दृढ रहने चेतावनी दिएको छ।

Facebook Comments Box
TOP
373 Shares