राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लिला भण्डारी अगाडि, दलहरूबीच सहमति

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदमा नेकपा (एमाले)की सांसद लिला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ । यसअघि उपाध्यक्ष रहेकी उर्मिला अर्यालको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो।

रिक्त पदपूर्तिका लागि आइतबार दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। सोही अनुसार एमालेकी भण्डारीले मनोनयन दर्ता गर्ने तयारी गरेकी छन्।

प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ बहुमत हासिल गरे पनि राष्ट्रियसभामा भने उसको प्रतिनिधित्व नरहेको अवस्था छ। यही परिस्थितिमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू—नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा—बीच सहमतिका आधारमा उपाध्यक्ष चयन प्रक्रिया अघि बढाइएको हो।

दलहरूबीच भएको सहमतिअनुसार एमालेकी भण्डारीलाई उपाध्यक्षमा अघि सारिएको हो। साथै, राष्ट्रियसभाका विभिन्न समितिहरूको नेतृत्व बाँडफाँट पनि गरिएको छ। जसअनुसार नेपाली कांग्रेसले विधायन व्यवस्थापन समिति र विकास तथा आर्थिक मामिला समितिको सभापति पाएको छ भने नेकपाले संघीयता सबलीकरण समिति र जनता समाजवादी पार्टी (जसपा)ले सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको नेतृत्व पाएका छन्।

राष्ट्रियसभाको अध्यक्ष पदमा भने यसअघि नै नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल निर्वाचित भइसकेका छन्।

यस सहमतिले राष्ट्रियसभामा दलहरूबीच सहकार्य र शक्ति सन्तुलन कायम गर्ने प्रयासलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ।

Facebook Comments Box
TOP
233 Shares