काठमाडौँमा क्रिप्टो–हुण्डी गिरोह पक्राउ, ३० लाख नगद बरामद

काठमाडौँ — काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा अवैध क्रिप्टो करेन्सी र हुण्डी कारोबार गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा आइतबार साँझ चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा चितवन घर भई झम्सिखेल बस्ने ३२ वर्षीय सवन अधिकारी, तारकेश्वरका २५ वर्षीय आशिष अधिकारी, ठमेल बस्ने ३२ वर्षीय रबिन जि.आर., र इमाडोलका ३७ वर्षीय अनित्य शाक्य रहेका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरूले क्रिप्टो करेन्सी खरिद–बिक्री र हुण्डीमार्फत ठुलो रकम ओसारपसार गर्दै आएका थिए।
पक्राउको क्रममा प्रहरीले ३० लाख रुपैयाँ नगद, विभिन्न कम्पनीका ६ थान मोबाइल र एक थान एप्पल कम्पनीको म्याकबुक बरामद गरेको छ। प्रहरीका अनुसार उनीहरू नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत अभौतिक मुद्रा प्रयोग र अवैध वित्तीय कारोबारमा संलग्न थिए।
उनीहरूका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबार र दफा १६२ (क) अनुसार अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा मुद्दा चलाइने तयारी भइरहेको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले बताएअनुसार, “यो घटनाले अवैध वित्तीय कारोबारविरुद्धको हाम्रो सतर्कता र नियन्त्रण क्षमता पुष्टि गर्दछ।”

Facebook Comments Box
TOP
200 Shares