

श्रीमतीविरुद्ध मुद्दा, तर मुख्य लगानीकर्ता भनिएका मिङमासँग सोधपुछै छैन; कमजोर प्रमाण कि प्रभावको खेल?
फेक रेस्क्यु प्रकरण: मिङमा शेर्पामाथि सीआइबीको मौनता, अनुसन्धानमा राजनीतिक छायाँको आशंका
काठमाडौं । बहुचर्चित ‘फेक रेस्क्यु’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद उम्मेदवार मिङमा शेर्पामाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सोधपुछसमेत नगरेको विषयले अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। जबकि सोही प्रकरणमा उनकी श्रीमती चुङला शेर्पाविरुद्ध मुद्दा दायर भइसकेको छ।
सीआइबीले तीन साताअघि ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो, जसमध्ये १० जना पक्राउ परेका थिए। तर, पक्राउ परेकामध्ये सबैजना सामान्य धरौटीमा छुटिसकेका छन्। यति गम्भीर प्रकृतिको मुद्दामा आरोपितहरू सहजै छुट्नुले अनुसन्धानको आधार र प्रमाणमाथि समेत प्रश्न उठ्न थालेको छ।
प्रकरणसँग सम्बन्धित बयानका क्रममा डा. गिवार्णराज तिमल्सिनाले सोह्रखुट्टेस्थित एरा अस्पतालका मुख्य सञ्चालक मिङमा शेर्पा रहेको बताएका छन्। उक्त अस्पतालले फेक रेस्क्युको नाममा फर्जी बिल बनाएर करोडौं रुपैयाँ असुली गरेको आरोप छ। मिङमा उक्त अस्पतालका प्रमुख लगानीकर्तामध्ये एक भएको बताइए पनि उनले आफ्नो सेयर श्रीमतीको नाममा राखेको देखिएको छ।
सीआइबीले दायर गरेको मुद्दामा चुङला शेर्पालाई २०औँ नम्बरमा राख्दै फरार प्रतिवादी बनाइएको छ। तर, मुख्य लगानीकर्ता भनिएका मिङमामाथि भने हालसम्म कुनै सोधपुछ नभएको तथ्यले अनुसन्धान निष्पक्षतामाथि शंका उत्पन्न गरेको छ।
मिङमा शेर्पा हालै सम्पन्न निर्वाचनमा संखुवासभाबाट रास्वपाका उम्मेदवार बनेका थिए। उनी एमालेका अर्जुन कार्कीसँग ६३६ मतान्तरले पराजित भएका थिए। विगतमा नेपाली कांग्रेससँग आबद्ध रहेका उनी पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर एवम् हालका प्रधानमन्त्री बालेन शाहसँगको निकटतापछि रास्वपामा सक्रिय बनेका थिए।
पर्यटन व्यवसायमा समेत प्रभावशाली मानिने मिङमा सेभेन समिट ट्रेकका अध्यक्ष तथा हेलि एभरेष्ट हेलिकोप्टर कम्पनीका सञ्चालक हुन्। सो हेलिकोप्टर कम्पनीमार्फत शंकास्पद उडानहरू भएको संकेतसमेत देखिएको भए पनि उनीमाथि कुनै कारबाही अघि नबढ्नुले थप आशंका जन्माएको छ। केही प्रहरी अधिकारीसँगको निकट सम्बन्धका कारण उनलाई उन्मुक्ति दिइएको चर्चा पर्यटन क्षेत्रमा चलिरहेको छ।
सीआइबीले यस प्रकरणमा संलग्न व्यक्तिहरूको सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गर्ने जनाएको थियो। तर, उक्त अनुसन्धान पनि अपेक्षाकृत सुस्त देखिएको छ। कानुनी रूपमा हेर्दा एरा अस्पतालका सञ्चालकहरूको सम्पत्ति रोक्का गर्दै विस्तृत छानबिन गर्नुपर्ने माग उठिरहेको छ।
यसैबीच, पक्राउ परेका मध्ये मुक्ति पाण्डे गृहमन्त्री सुधन गुरुङका निकटस्थ व्यक्ति रहेको तथ्य बाहिरिएपछि अनुसन्धानमा राजनीतिक प्रभाव परेको हुनसक्ने आशंका थप बलियो बनेको छ।
सीआइबी प्रमुख मनोज केसीमाथि पनि आलोचना बढ्दो छ। विदेशसम्म नेपालको छवि असर पर्ने संवेदनशील विषयमा अनुसन्धानलाई प्रभावकारी ढंगले निष्कर्षमा पुर्याउन नसकेको आरोप उनीमाथि लागिरहेको छ। प्रारम्भमै मिडियामार्फत व्यापक प्रचार भए पनि त्यसअनुसार ठोस उपलब्धि नदेखिनुले सीआइबीको कार्यशैलीमाथि प्रश्न चिन्ह खडा गरेको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



