साताभर बढ्यो सुनचाँदीको मूल्य, बजारमा अन्तर्राष्ट्रिय प्रभाव स्पष्ट

काठमाडौँ । नेपाली बजारमा यो साता सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । साताको सुरुवातदेखि नै उतारचढाव देखिएको मूल्य अन्त्यतिर बढ्दै गएको हो, जसले बजारमा अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव स्पष्ट पारेको छ ।

साताको पहिलो दिन आइतबार प्रतितोला दुई लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा दुई लाख ९९ हजार आठ सय रुपैयाँ पुगेको छ । यसअनुसार साताभर सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले बढेको देखिन्छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि उकालो लागेको छ । आइतबार प्रतितोला चार हजार नौ सय ७५ रुपैयाँ रहेको चाँदी शुक्रबार पाँच हजार एक सय ३० रुपैयाँमा कारोबार भएको छ । साताभरमा चाँदीको मूल्य प्रतितोला एक सय ५५ रुपैयाँले वृद्धि भएको हो ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली बजारमा प्रत्यक्ष असर पारेको छ । बढ्दो भूराजनीतिक तनाव, मुद्रास्फीतिको दबाब, अमेरिकी डलर कमजोर हुनु तथा चाँदीको औद्योगिक माग बढ्नुजस्ता कारणले सुनचाँदीको मूल्यमा वृद्धि भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष जोडिएको नेपाली सुनचाँदी बजारमा आगामी दिनमा पनि यस्तै उतारचढाव रहने अनुमान गरिएको छ ।

Facebook Comments Box
TOP
153 Shares