ललितपुरमा आज रातो मच्छिन्द्रनाथको रथारोहण, ऐतिहासिक जात्रा औपचारिक रूपमा सुरु

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पूजाअर्चना गरिने अन्तर्गत आज रथारोहण गरिँदैछ। उपत्यकाकै सबैभन्दा महत्वपूर्ण र लामो समयसम्म चल्ने जात्रामध्ये एक मानिने यो पर्वसँगै ललितपुरको सांस्कृतिक र धार्मिक गतिविधि औपचारिक रूपमा सुरु हुने भएको छ।

हाल पुलचोकमा रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। रथ निर्माणसँग सम्बन्धित बाराही ञँवालका अनुसार आजै निर्माण सम्पन्न गरी पात्रोअनुसार बेलुकासम्म रथारोहण गर्ने तयारी गरिएको छ। ञँवालका नाइके प्रेम महर्जनले निर्धारित समयमै सम्पूर्ण प्रक्रिया पूरा हुने विश्वास व्यक्त गरे।

परम्पराअनुसार गजुर राखिसकेपछि ललितपुरस्थित मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति विधिपूर्वक पुलचोकमा ल्याइनेछ। मूर्ति ल्याउने क्रममा गजुरको पल्टनसहित पुजाहारी जलपानेजु र खलपानेजुको सक्रिय सहभागिता रहनेछ। त्यसपछि विशेष पूजाअर्चनासहित मूर्तिलाई रथमा विराजमान गराइनेछ।

रथारोहण सम्पन्न भएसँगै जात्राको मुख्य आकर्षण मानिने रथ तान्ने कार्यक्रम सुरु हुनेछ। पात्रोअनुसार वैशाख ८ गते बेलुका रथ तानिनेछ भने सोही दिन रथलाई गाबल पुर्‍याइने कार्यक्रम तय गरिएको छ।

परम्परा, आस्था र सामुदायिक एकताको प्रतीक मानिने यो जात्राले हरेक वर्ष हजारौँ श्रद्धालु तथा दर्शकलाई आकर्षित गर्ने गरेको छ।

Facebook Comments Box
TOP
199 Shares