

रौतहटको ईशनाथमा विद्यालयमा आर्थिक अनियमितता: अभिभावकको गुनासो बेवास्ता, सार्वजनिक सम्पत्ति अतिक्रमण गम्भीर
रौतहट। ईशनाथ नगरपालिका–७ स्थित श्री विशेश्वर प्रसाद आदर्श माध्यमिक विद्यालय, जोकहा घिउरामा व्यापक आर्थिक हिनामिना तथा चरम लापरवाही भएको गम्भीर आरोप सार्वजनिक भएको छ। अभिभावक तथा स्थानीयवासीले विद्यालय प्रशासन, नगरपालिकाको शिक्षा शाखा र विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा अनियमितता भएको दाबी गरेका छन्।
स्थानीयका अनुसार विद्यालयमा निजी स्रोतबाट वार्षिक करिब १५ लाख रुपैयाँ आम्दानी हुने गरेको भए पनि त्यसको पारदर्शी हिसाबकिताब सार्वजनिक गरिएको छैन। प्रधानाध्यापक चन्देश्वर यादवसँग बारम्बार हिसाब माग्दा समेत आलटाल गर्दै आएको अभिभावकहरूको आरोप छ।
अभिभावकहरूले नगरपालिकाको शिक्षा शाखामा पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार यसले विद्यालयको शैक्षिक गुणस्तरमा गम्भीर असर परेको छ र गाउँ नै शिक्षाबाट पछाडि पर्दै गएको अवस्था छ।
सार्वजनिक जग्गा अतिक्रमणमा समेत बेवास्ता
विद्यालयको करिब दुई बिघा क्षेत्रफलमा फैलिएको पोखरीसम्बन्धी सार्वजनिक जग्गा स्थानीयले अवैध रूपमा अधिग्रहण गरेको आरोप छ। सर्वोच्च अदालतबाट विद्यालयकै पक्षमा फैसला भए पनि कार्यान्वयन नहुँदा सो जग्गामा स्थायी संरचना निर्माण भइरहेको स्थानीयको भनाइ छ। यस विषयमा विद्यालय प्रशासन र सम्बन्धित निकाय मौन बसेको आरोप लगाइएको छ।
अनियमितताका मुख्य आरोपहरू:
- सरकारी स्रोतबाट तलब पाइने कर्मचारीका नाममा निजी स्रोतको रकमसमेत हिनामिना
- चार वर्षदेखि सम्पर्कविहीन शिक्षक राकेश कुमार ठाकुरबारे कुनै पहल नभएको
- स्थायी दरबन्दी घटाएर राहत दरबन्दी कायम गर्न आर्थिक चलखेल
- विद्यालयको सार्वजनिक जग्गा अतिक्रमणमा संलग्नता वा लापरवाही
- सूचना बिना आफन्तलाई निजी स्रोतबाट नियुक्ति र मनपरी तलब वृद्धि
- ४–५ वर्षदेखि लेखापरीक्षण नगरी आर्थिक अपारदर्शिता
- खाजा कार्यक्रममा कम गुणस्तरको खाद्यान्न वितरण र नियमितता अभाव
- शिक्षकलाई काजमा पठाएर पठनपाठनमा अवरोध
स्थानीय अभिभावकहरूले यस्ता गतिविधिले विद्यालयको शैक्षिक वातावरण नै ध्वस्त पारिरहेको बताएका छन्। उनीहरूले सम्बन्धित निकायलाई तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा सार्वजनिक सम्पत्ति संरक्षण गर्न माग गरेका छन्।
यस विषयमा विद्यालय प्रशासन, ईशनाथ नगरपालिका र शिक्षा शाखाको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।
समाज
थप सामाग्री-
३० वर्षे सेवापछि अवकाशः ट्राफिक एसएसपी नवराज अधिकारीद्वारा भावपूर्ण बिदाई
-
सडकमा ट्राफिक अनुशासन कडाइ गर्न एसएसपी अधिकारीको निर्देशन
-
ई–बिडिङ ह्याकिङ ‘महाजाल’ : डिजिटल भ्रष्टाचारको खतरनाक संकेत
-
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना : पैदलयात्रीको मृत्यु
-
समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न अन्तिम चेतावनी, नतिरे कठोर कारबाही हुने
प्रधानमन्त्री वालेनको असंवेदनशील शब्द हटाउन हर्क साम्पाङसँग अल्पसंख्यक समुदायको गुहार
११ घण्टा अगाडि
2.0kViews 119 Shares Share on Facebook Share on Twitter काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको विगतको र्याप ब्याटलमा प्रयोग भएका असंवेदनशील…



