बालेन्द्र शाहको सिफारिसमा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा प्रस्ताव, न्याय प्रणालीलाई गति दिने अपेक्षा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले न्याय सम्पादनलाई थप प्रभावकारी, तीव्र र जनमुखी बनाउने उद्देश्यसहित न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको जानकारी दिएका छन्।

संवैधानिक परिषद्को बैठकपछि प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको विवरणअनुसार न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि (पीएचडी) गरेका तथा मुद्दा फछ्र्यौटमा उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई सर्वोच्च अदालतको सर्वोच्च जिम्मेवारीमा सिफारिस गर्ने निर्णय गरिएको हो।

सचिवालयका अनुसार वर्षौँदेखि सर्वोच्च अदालतमा थाती रहेका मुद्दाको चाप घटाउँदै न्याय सम्पादनलाई थप गतिशील बनाउन सक्ने नेतृत्व आवश्यक रहेको निष्कर्षसहित परिषद्ले डा. शर्मालाई उपयुक्त उम्मेदवारका रूपमा अघि सारेको हो।

प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विवरणमा भनिएको छ, “न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/०८१) अन्तर्गत गरिएको कार्यसम्पादन मूल्याङ्कनमा डा. शर्मा समकालीन न्यायाधीशहरूमध्ये अग्रस्थानमा देखिनुभएको छ।”

सर्वोच्च अदालतको तथ्याङ्क उद्धृत गर्दै सचिवालयले डा. शर्माले हालसम्म ७ हजार ३ सय ८८ वटा मुद्दा तथा निवेदनको अन्तिम टुङ्गो लगाइसकेको जनाएको छ। यो संख्या प्रस्तावित अन्य न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च रहेको दाबी गरिएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा मात्रै उनले २ हजार १ सय ८१ मुद्दा फछ्र्यौट गरेको उल्लेख गर्दै सचिवालयले उनको कार्यक्षमता, सक्रियता र न्याय सम्पादनको गतिलाई असाधारण उपलब्धिका रूपमा व्याख्या गरेको छ।

यो सिफारिससँगै न्यायपालिकामा सुधार, छिटो न्याय र प्रभावकारी सेवा प्रवाह हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
142 Shares