लुटेराको सामना गर्ने साहसी सञ्जिता शाक्यलाई आईजीपी दानबहादुर कार्कीद्वारा सम्मान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लुटपाटको प्रयासलाई बहादुरीपूर्वक प्रतिकार गर्ने सञ्जिता शाक्यलाई सम्मान गरेका छन्।

काठमाडौं महानगरपालिका–२२, वटु निवासी तथा नैना एन्ड ईशान ज्वेलर्समा कार्यरत सञ्जिता शाक्यलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा कदरपत्र प्रदान गरी सम्मान गरिएको हो।

गत वैशाख १७ गते काठमाडौं महानगरपालिका–२४, तुछेनानी गल्लीस्थित उक्त ज्वेलर्समा दुई जनाले पेस्तोल देखाई लुटपाटको प्रयास गर्दै आतंक सिर्जना गरेका थिए। सो क्रममा सञ्जिता शाक्यले आफ्नो ज्यानको पर्वाह नगरी साहसिक रूपमा प्रतिकार गर्दै घटनालाई नियन्त्रणमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

प्रहरीका अनुसार उनको साहस, आत्मविश्वास र नागरिक दायित्वप्रतिको जिम्मेवार व्यवहारको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो।

घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ।

Facebook Comments Box
TOP
289 Shares