सरकारद्वारा नेपाल दूरसञ्चार प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रका प्रमुख पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रका रिक्त उच्च पदहरू पूर्ति गर्न दरखास्त आह्वान गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्यहरू र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो ।

सरकारले हालै ल्याएको अध्यादेशअनुसार सार्वजनिक पदाधिकारीहरू स्वतः पदमुक्त भएपछि विभिन्न निकायका अध्यक्ष, सदस्य, समिति, बोर्ड तथा आयोगका पदहरू रिक्त भएका थिए । सोही रिक्त पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्राधिकरणमा अध्यक्षसहित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण र कानुनी क्षेत्रबाट चार जना सदस्य नियुक्त गरिनेछ ।

योग्यता अनुसार अध्यक्ष पदका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, स्नातक वा सोसरह उत्तीर्ण र सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव आवश्यक छ । त्यस्तै, सदस्यका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव र स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको, स्नातकोत्तर उपाधि हासिल गरेको तथा कम्तीमा ५ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ ।

इच्छुक तथा योग्य नेपाली नागरिकहरूले आगामी ५ जेठसम्म मन्त्रालयमा दरखास्त दिन सक्नेछन् ।

Facebook Comments Box
TOP
318 Shares