पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको विरोध, पत्रकार महासंघ युरोप शाखाद्वारा प्रेस स्वतन्त्रताको पक्षमा खबरदारी

काठमाडौं । सरकार र सत्तासँग सम्बन्धित विषयमा समाचार प्रकाशन गरेकै कारण जनआस्था साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक किशोर श्रेष्ठमाथि गरिएको भनिएको प्रहरी निगरानी र धरपकड प्रयासको नेपाल पत्रकार महासंघ युरोप शाखाले कडा विरोध गरेको छ ।

शाखाले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा पत्रकारलाई निगरानीमा राख्ने, धम्क्याउने, पक्राउको त्रास सिर्जना गर्ने तथा समाचारको स्रोत खुलाउन दबाब दिने कार्य स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर हस्तक्षेप भएको जनाएको छ ।

विज्ञप्तिमा आलोचनात्मक समाचार प्रकाशन भएकै कारण पत्रकारमाथि दबाब सिर्जना गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने उल्लेख गरिएको छ। शाखाले केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारुढ दलका नेतासम्बन्धी आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधानसम्पादक श्रेष्ठमाथि निगरानी, धरपकड प्रयास र धम्कीका गतिविधि बढाइएको दाबी गरेको छ।

“आलोचनात्मक समाचार प्रकाशन भएकै कारण पत्रकारलाई धम्क्याउने, पक्राउको त्रास सिर्जना गर्ने तथा समाचारको स्रोत खुलाउन दबाब दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,” विज्ञप्तिमा भनिएको छ।

महासंघ युरोप शाखाले प्रेसविरोधी गतिविधि तत्काल रोक्न सरकार र सम्बन्धित निकायसँग माग गर्दै समाचार सामग्रीप्रति कुनै गुनासो वा असहमति भए कानुनी तथा संस्थागत प्रक्रियाअनुसार प्रेस काउन्सिलमार्फत समाधान खोज्न आग्रह गरेको छ।

शाखाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरूमाथि तत्काल कानुनी कारबाही गर्न समेत माग गरेको छ।

यस घटनाप्रति नेपालका विभिन्न पत्रकार संगठनहरूले पनि आपत्ति जनाएका छन्। समाजवादी प्रेस संगठन नेपाल, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी नेपाल तथा नेपाल पत्रकार महासंघले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको भनिएको दबाब र धरपकड प्रयासको विरोध गरेका छन्।

पत्रकार संगठनहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले समाचारकै कारण पत्रकारमाथि कुनै पनि प्रकारको दमन, निगरानी वा धम्की अस्वीकार्य हुने बताएका छन्।

Facebook Comments Box
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
१२ घण्टा अगाडि

1.6kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…

TOP
197 Shares