पत्रकार किशोर श्रेष्ठमाथि दबाब सिर्जना गरिएको भन्दै प्रेस चौतारीको आपत्ति

काठमाडौं । प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि सरकारी निकायबाट धरपकड, निगरानी र मानसिक दबाब सिर्जना गरिएको भन्दै त्यसको कडा निन्दा तथा भर्त्सना गरेको छ।

चौतारीका महासचिव हिरामान लामाले सोमबार जारी गरेको विज्ञप्तिमा राज्य संयन्त्रको दुरुपयोग गर्दै पत्रकारमाथि धम्की, निगरानी र धरपकडको प्रयास भएको विषयप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

विज्ञप्तिमा जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर पत्रकार श्रेष्ठलाई समाचारको स्रोत खुलाउन दबाब दिने, धम्क्याउने तथा पक्राउ गर्ने तयारी भइरहेको भन्ने सूचना अत्यन्त आपत्तिजनक, अलोकतान्त्रिक र प्रेस स्वतन्त्रताविरोधी भएको उल्लेख गरिएको छ।

प्रेस चौतारीले सञ्चारमाध्यम तथा पत्रकारमाथि राज्य शक्तिको आडमा प्रतिशोध साँध्ने र दबाब सिर्जना गर्ने कार्य प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भएको ठहर गरेको छ। पत्रकारिताको मूल मर्म र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने यस्ता गतिविधिले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर बनाउने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

विज्ञप्तिअनुसार पत्रकार श्रेष्ठले आफूमाथि लगाइएका आरोपबारे निष्पक्ष छानबिनको माग गरिरहेकै अवस्थामा उल्टै निगरानी र मानसिक दबाब बढाइनु सरकारको नियतमाथि प्रश्न उठाउने विषय भएको चौतारीको भनाइ छ।

चौतारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधिविरुद्ध सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा लोकतन्त्रप्रेमी शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।

साथै घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्दै संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ। पत्रकारमाथि हुने धाकधम्की, प्रतिशोधपूर्ण व्यवहार तथा अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्नुपर्ने चौतारीको जोड छ।

Facebook Comments Box
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि दुष्प्रचार र धम्की प्रेस स्वतन्त्रतामाथिको आक्रमण : पत्रकार महासंघ काठमाडौं
७ घण्टा अगाडि

1.6kViews 247 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ…

TOP
Shares