भारत भ्रमणको चर्चा र रास्वपाभित्र हलचल: रवि लामिछानेको दिल्ली यात्रा अनिश्चित

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित भारत भ्रमणलाई लिएर पार्टीभित्रै तीव्र बहस सुरु भएको छ। आगामी जेठ १८ गते नयाँदिल्ली जाने तयारीबारे सूचना सार्वजनिक भएपछि रास्वपाभित्र भ्रमणको औचित्य, प्रक्रिया र एजेन्डामाथि प्रश्न उठ्न थालेका छन्।

पार्टी स्रोतका अनुसार सभापति लामिछानेको भारत भ्रमणबारे रास्वपाको औपचारिक संरचनामा कुनै निर्णय भएको छैन। भ्रमणका विषयमा पार्टीको केन्द्रीय समिति तथा वरिष्ठ नेतृत्वसँग समेत पर्याप्त छलफल नभएको दाबी गरिएको छ। स्रोतका अनुसार भ्रमण जस्तो संवेदनशील विषयमा पार्टीको औपचारिक निर्णय र स्पष्ट एजेन्डा आवश्यक पर्ने भए पनि त्यसअनुसार प्रक्रिया अघि नबढेको भन्दै नेताहरूले चासो व्यक्त गरेका छन्।

लामिछाने भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा दुईदिने भ्रमणमा जान लागेको चर्चा छ। भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत उच्च अधिकारीसँग भेटवार्ताको तयारी भएको बताइएको थियो। यद्यपि भ्रमणको औपचारिक पुष्टि भने भएको छैन।

नेपाल–भारत सम्बन्ध संवेदनशील मोडमा रहेका बेला हुन लागेको भनिएको यो भ्रमणलाई कूटनीतिक वृत्तले पनि विशेष चासोका साथ हेरिरहेको छ। विशेषगरी लिपुलेक नाका हुँदै चीन–भारत व्यापार विस्तार, कालापानी–सुस्ता विवाद, पञ्चेश्वर आयोजना तथा अन्य द्विपक्षीय मुद्दाका कारण दुई देशबीचको सम्बन्धमा देखिएको जटिलताबीच भ्रमणको समयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले भने सभापति लामिछानेको सम्भावित भ्रमणलाई सरकारको औपचारिक कार्यक्रमसँग जोडेर नहेर्न आग्रह गरेका छन्। उनका अनुसार यो भ्रमण व्यक्तिगत वा पार्टीस्तरको भए त्यसलाई प्रधानमन्त्रीको भ्रमणसँग तुलना गर्नु उपयुक्त हुँदैन।

यसैबीच, लामिछानेले मंगलबार बिहान कूटनीतिक क्षेत्रका जानकारहरूसँग परामर्श गरेको बुझिएको छ। कूटनीति विज्ञहरूले सत्तारुढ दलका शीर्ष नेताले स्पष्ट उद्देश्य, तयारी र संस्थागत निर्णयबिना विदेश भ्रमण गर्दा देश तथा पार्टी दुवैलाई असहज अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएको स्रोतको दाबी छ।

रास्वपाभित्रै पनि भारतसँगका जटिल द्विपक्षीय मुद्दाका कारण पर्याप्त गृहकार्यबिना भ्रमणमा जान नहुने मत बलियो बन्दै गएको छ। भ्रमणमा को–को सहभागी हुने, नेपालले उठाउने एजेन्डा के हुने र सम्भावित कूटनीतिक प्रस्तावहरूप्रति पार्टीको धारणा के रहने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको नेताहरूको भनाइ छ।

पार्टीभित्र बढ्दो बहसका बीच सभापति लामिछानेको भारत भ्रमण अन्ततः हुने वा नहुने भन्ने विषय अझै अनिश्चित बनेको छ। रास्वपाले औपचारिक निर्णय नगरेसम्म भ्रमणको टुंगो लाग्ने सम्भावना कम रहेको स्रोतहरूको भनाइ छ। राजनीतिक र कूटनीतिक दुवै दृष्टिले महत्वका साथ हेरिएको यो विषयले आगामी दिनमा नेपाली राजनीतिमा थप चर्चा पाउने देखिएको छ।

Facebook Comments Box
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
१७ घण्टा अगाडि

2.1kViews 497 Shares Share on Facebook Share on Twitter अछाम/बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती…

TOP
384 Shares