पर्यटन क्षेत्रको सुरक्षा र नागरिक गुनासो सुन्न एआईजी कार्की ठमेलमा, ‘समुदायले चाहेको परिवर्तनका लागि प्रहरी तयार’

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा ठमेल क्षेत्रमा सुरक्षा जनचासो, नागरिक गुनासो र समाधानका उपायबारे केन्द्रित “नागरिक सुनुवाइ” तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी वृत्त लैनचौर, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलको संयुक्त आयोजनामा बुधबार काठमाडौं महानगरपालिका–२६ स्थित होटल यात्री एण्ड बडी (Yatri & Buddy) मा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी कार्कीले नेपालको आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधार पर्यटन क्षेत्र भएकाले पर्यटकमैत्री, सभ्य र सुरक्षित समाज निर्माणमा नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै समुदायले अपेक्षा गरेको सकारात्मक परिवर्तनका लागि नेपाल प्रहरी सदैव तयार रहेको धारणा राख्नुभयो।

“सुरक्षित वातावरण बिना पर्यटन क्षेत्रको विकास सम्भव हुँदैन। त्यसैले नागरिकको विश्वास जित्ने र समुदायसँग हातेमालो गर्दै अघि बढ्ने हाम्रो प्राथमिकता हो,” कार्कीले भन्नुभयो।

नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले ठमेल क्षेत्रको सुरक्षा अवस्था, पर्यटक लक्षित अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, रात्रीकालीन सुरक्षा, सार्वजनिक सरसफाइ तथा समुदाय–प्रहरी सहकार्यका विषयमा आफ्ना अनुभव, सुझाव र जिज्ञासा राखेका थिए।

कार्यक्रममा उठेका प्रश्न तथा गुनासोमाथि प्रहरी नेतृत्वले प्रत्यक्ष जवाफ दिँदै आवश्यक सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएको थियो।

अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, ठमेल पर्यटन बोर्डका पदाधिकारी, विभिन्न व्यवसायी, पूर्व प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, समाजसेवी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, साथै प्रहरी अधिकृत तथा जवानहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीय स्तरमा प्रहरी र नागरिकबीच प्रत्यक्ष संवाद स्थापना गर्दै सुरक्षा सम्बन्धी समस्या पहिचान र समाधान खोज्ने उद्देश्यले आयोजित कार्यक्रमलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका थिए।

Facebook Comments Box
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
१३ घण्टा अगाडि

2.0kViews 497 Shares Share on Facebook Share on Twitter अछाम/बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती…

TOP
Shares