पश्चिमी न्यून चापीय रेखाको प्रभाव: देशभर बदली, वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म फैलिएको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। यसका कारण देशका अधिकांश क्षेत्रमा बदली, वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै मधेस प्रदेशसहित विभिन्न तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

मौसमविद्हरूले देशका तराई र पहाडी भूभागका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। चट्याङ्ग, हावाहुरी र वर्षाले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने जनाइएको छ।

आज राति भने सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षा, चट्याङ्ग र हावाहुरीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

Facebook Comments Box
TOP
138 Shares