कानून निर्माणबारे चार मन्त्रालयबीच समन्वयात्मक छलफल, असार मसान्तभित्र विधेयक सूची बुझाउन निर्देशन

काठमाडौँ — कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको अध्यक्षतामा आगामी दिनमा आवश्यक पर्ने कानून निर्माणका विषयमा चार मन्त्रालयबीच विस्तृत छलफल भएको छ।

बैठकमा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, गृह मन्त्री सुधन गुरुङ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ सहभागी भएका थिए। अर्थ मन्त्री उपत्यका बाहिर रहेकाले सचिवसहितका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा मन्त्री गौतमले सम्बन्धित मन्त्रालयहरूलाई आ–आफ्ना प्राथमिकता अनुसार आवश्यक कानूनहरूको सूची तयार गरी असार मसान्तभित्र पेस गर्न निर्देशन दिइन्। उनले समयमै प्रभावकारी विधेयक मस्यौदा गरी कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइन्।

बैठकमा विज्ञान मन्त्री पुनले अनुसन्धान तथा नवप्रवर्तन नीतिलाई सुदृढ बनाउने आवश्यकता औंल्याए। गृह मन्त्री गुरुङले पुराना कानूनी संरचनामा रहेका चुनौतीहरू समाधान गर्दै सुशासन प्रवर्द्धन गर्नुपर्ने धारणा राखे। त्यस्तै, ऊर्जा मन्त्री श्रेष्ठले विकास परियोजना र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्न आधुनिक कानूनी व्यवस्था आवश्यक रहेको बताए।

अर्थ मन्त्रालयले आवश्यक सुझावहरू छिट्टै पेस गर्ने प्रतिबद्धता जनाएको छ।

Facebook Comments Box
TOP
169 Shares