प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औं समूह (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १४औं समूह) को दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ।
समारोहमा प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम एवम् शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धिमा प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो। साथै उहाँले सर्वद्वितीय प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रहरी निरीक्षक तारा बहादुर तामाङ, कवाज प्रथम प्रहरी निरीक्षक ईश्वर महत, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रहरी निरीक्षक दिनेश प्रसाद रिमाल, अध्ययन प्रथम प्रहरी निरीक्षक नविन कुमार शाही तथा मस्केट्री एवं चाँदमारी प्रथम प्रहरी निरीक्षक श्रीमान चाईलाई पुरस्कार प्रदान गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन परिश्रम, अनुशासन र समर्पणका साथ तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित भएका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल व्यावसायिक भविष्यको शुभकामना व्यक्त गर्नुभयो। तालिमका क्रममा विकास भएको सामूहिक भावना, निर्णय क्षमता र संकट सामना गर्ने अभ्यास नै पेशागत जीवनका आधार स्तम्भ भएको उल्लेख गर्दै उहाँले प्रहरी अधिकृतहरूले कुशल नेतृत्व र उच्च जिम्मेवारीबोधका साथ नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिनुभयो।
नेपाल प्रहरी कानुन कार्यान्वयन गर्ने प्रमुख संस्थामध्ये एक भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तपाईंहरू आज राज्य र नागरिकबीचको पहिलो सम्पर्क बिन्दु बन्नुहुन्छ। नागरिकले सरकारलाई तपाईंहरूको व्यवहार र आचरणमार्फत मूल्यांकन गर्छन्। त्यसैले कानुन कार्यान्वयनमा कठोरता मात्र होइन, शिष्टता र मानवताको भावना पनि अनिवार्य हुनुपर्छ।” अनुसन्धान व्यावसायिक, निष्पक्ष र स्पष्ट भएमा मात्र न्याय सुनिश्चित हुने उल्लेख गर्दै उहाँले गरिब, पीडित र कमजोरको पक्षमा दृढतापूर्वक उभिन सक्ने प्रहरी नै न्याय प्रणालीको मेरुदण्ड हुने धारणा व्यक्त गर्नुभयो।
प्रधानमन्त्री कार्कीले परम्परागत अपराधसँगै साइबर, संगठित, वित्तीय तथा बहुदेशीय अपराधका नयाँ चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै अब प्रहरी केवल आदेश पालक होइन, विश्लेषक र समाधानकर्ताको भूमिकामा विकसित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको र यसमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने भन्दै कुनै पनि राजनीतिक प्रभाव वा पूर्वाग्रहबाट माथि उठेर कानुनअनुसार कार्य गर्न निर्देशन दिनुभयो।कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले दीक्षित प्रहरी अधिकृतहरू अब केवल निलो बर्दीधारी मात्र नभई राज्यका प्रतिनिधि, कानुनका संरक्षक र जनविश्वासका वाहक भएको बताउनुभयो। अपराधका स्वरूप जटिल बन्दै गइरहेको वर्तमान अवस्थामा कानुनको गहिरो ज्ञानसँगै विवेक, संयमता, नैतिकता र व्यावसायिक निर्णय क्षमताको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो। आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले विगतझैं यसपटक पनि आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले झण्डै १९ महिनाको कठिन प्रशिक्षणपछि दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई दिँदै सफल र उपलब्धिमूलक सेवाकालको शुभकामना व्यक्त गर्नुभयो। नेपाल प्रहरी नागरिकको सुख–दुःखसँग प्रत्यक्ष जोडिएको संस्था भएको उल्लेख गर्दै उहाँले यस संगठनको सदस्य हुनु गर्वको विषय भए पनि यससँगै ठूलो जिम्मेवारी र चुनौतीहरू पनि जोडिएको बताउनुभयो।
उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनुभयो। साथै उहाँले स्वागत मन्तव्य तथा तालिम प्रतिवेदन प्रस्तुत गर्दै २०८१ साउन २१ गतेदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन भएको उक्त तालिममा ९ महिला सहित कुल ९२ जना प्रहरी निरीक्षकहरू सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो।
समारोहमा प्रशिक्षार्थीहरूको कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा प्रस्तुत सांगीतिक धुनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। दीक्षित प्रहरी निरीक्षकहरूलाई आ–आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गराएका थिए।
दीक्षान्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी, प्रधानमन्त्रीका मुख्य तथा प्रेस सल्लाहकार, महान्यायाधिवक्ता, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, पूर्व प्रहरी महानिरीक्षकहरू, उच्च पदस्थ सुरक्षा अधिकारीहरू, सञ्चारकर्मीहरू, अभिभावकहरू तथा विशिष्ट अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Facebook Comments Box
TOP
139 Shares