महाशिवरात्रि: आस्था, अनुशासन र आध्यात्मिक जागरणको पर्व

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ सम्पन्न हुँदैछ। हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्वका रूपमा स्थापित यो दिन भगवान् शिवको अत्यन्त प्रिय तिथि मानिन्छ। पुराणहरूका अनुसार यही पावन रात्रिमा शिवजी प्रकट हुनुभएको स्मरणमा यो पर्व मनाइन्छ। कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णित महाशिवरात्रि केवल धार्मिक अनुष्ठान मात्र होइन, आत्मशुद्धि र आध्यात्मिक जागरणको अवसर पनि हो।
शिवलाई संहारका देवता मात्र नभई सृष्टि–संरक्षण र परिवर्तनका प्रतीकका रूपमा पनि व्याख्या गरिन्छ। त्यसैले महाशिवरात्रि जीवनका दुःख, कष्ट र अन्यायमाथि आत्मबल, संयम र धर्मको विजयको सन्देश बोकेको पर्व हो। विशेषतः कठिन परिस्थितिमा जीवन बिताइरहेका मानिसहरूका लागि यो दिन आशा र आत्मबलको स्रोत मानिन्छ।
यस अवसरमा भक्तजनहरू शुद्ध भई शिव मन्दिरहरूमा पूजा, अर्चना र व्रत बस्ने परम्परा निर्वाह गर्छन्। दूध, धतुरो र बेलपत्र अर्पण गरिन्छ, जुन शिवलाई प्रिय मानिन्छ। शिव–पार्वती विवाह तथा ब्रह्माले रूद्ररूपी शिव उत्पत्ति गराएको दिनका रूपमा पनि यसको धार्मिक महत्त्व रहेको छ। ‘ऊँ नमः शिवाय’ मन्त्र जप, निर्जल व्रत, रात्रि जागरण र चार प्रहरको पूजा शिवरात्रिको प्रमुख विधि हुन्। जल, दूध, दही, घिउ, मह र बेलपत्रद्वारा गरिने दुग्धाभिषेकले भक्ति र समर्पणको भाव प्रकट गर्दछ।
धार्मिक ग्रन्थहरूमा शिवरात्रि व्रतको विशेष महिमा वर्णन गरिएको पाइन्छ। शिव पुराण तथा लिङ्ग पुराणमा उपवास, ध्यान र पूजाबाट मोक्ष तथा शिवलोक प्राप्त हुने विश्वास उल्लेख छ। पद्य पुराणले व्रत बस्ने पुरुष वा महिलालाई आरोग्य र सौभाग्य प्राप्त हुने बताउँछ भने शिवमहापुराणको कोटिरुद्रसंहितामा शिवरात्रि व्रतलाई सबैभन्दा उत्तम धर्मसाधनका रूपमा व्याख्या गरिएको छ। यसले वर्ण, आश्रम, लिङ्ग वा उमेरको भेदभाव नगरी सबैका लागि समान रूपमा कल्याणकारी रहेको सन्देश दिन्छ।
धार्मिक आस्थासँगै सामाजिक–सांस्कृतिक आयामले पनि महाशिवरात्रिलाई विशेष बनाएको छ। पशुपतिनाथ मन्दिर, डोलेश्वर महादेव मन्दिर, देवघाट धाम तथा हलेसी महादेव मन्दिरलगायत देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको घुइँचो लागेको छ। विशेषतः पशुपतिनाथ क्षेत्रमा लाग्ने मेला र स्वदेश तथा भारतबाट आएका साधु–सन्तहरूको उपस्थिति यस पर्वको अन्तर्राष्ट्रिय महत्वको द्योतक हो। त्यस्तै भारतका काशी विश्वनाथ मन्दिर, केदारनाथ मन्दिर, सोमनाथ मन्दिर र महाकालेश्वर ज्योतिर्लिङ्गमा समेत भक्तजनहरूको ठूलो भीड देखिएको छ।
आजको सन्दर्भमा महाशिवरात्रि केवल कर्मकाण्डमा सीमित रहनु हुँदैन। शिवले प्रतिपादन गरेको संयम, समता, सहिष्णुता र सत्यको मार्गलाई आत्मसात् गर्नु नै यस पर्वको वास्तविक सार हो। समाजमा बढ्दो असहिष्णुता, हिंसा र विभाजनबीच शिवको “संहार” लाई नकारात्मकताको अन्त्य र सकारात्मक परिवर्तनको आरम्भका रूपमा बुझ्नु जरुरी छ।
अन्ततः महाशिवरात्रि हाम्रो सांस्कृतिक पहिचान, धार्मिक सहअस्तित्व र आध्यात्मिक चेतनाको प्रतीक हो। बाह्य पूजा–अर्चनासँगै आन्तरिक शुद्धि, अनुशासन र सदाचारको अभ्यास गर्न सके मात्र यो पर्वको सार्थकता सिद्ध हुनेछ। यही सन्देशका साथ महाशिवरात्रिले सम्पूर्ण मानवजातिमा शान्ति, सद्भाव र समृद्धिको प्रकाश फैलाओस्।

Facebook Comments Box
TOP
366 Shares