

चुनावअघि नै ठप्प काठमाडौं : मध्यरातदेखि लामो दूरीका गाडी बन्द, बैंक काउन्टर सेवा पनि रोकिने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राजधानीको जनजीवन ठप्पजस्तै हुने संकेत देखिएको छ। मतदानको अघिल्लो राति १२ बजेदेखि लामो दूरीका सार्वजनिक सवारी साधन पूर्ण रूपमा बन्द गरिने निर्णयसँगै यात्रुहरू अन्योलमा परेका छन्। यातायातसँगै बैंकिङ काउन्टर सेवा पनि बन्द हुने भएपछि उपत्यकामा अस्थायी रूपमा आर्थिक र सामाजिक गतिविधि सुस्ताउने देखिएको छ।
यातायात व्यवसायी महासंघका अनुसार काठमाडौं उपत्यकाबाट बाहिरिने तथा भित्रिने सबै लामो दूरीका गाडी बुधबार राति १२ बजेदेखि सञ्चालनमा रहने छैनन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निर्वाचनको पूर्वसन्ध्यादेखि नै सवारी आवतजावत नियन्त्रणमा लिइएको महासंघले जनाएको छ।
छोटो दूरीका सवारी साधन भने बुधबारसम्म आंशिक रूपमा चल्ने भए पनि मध्यरातपछि ती समेत निर्वाचन प्रयोजनबाहेक सञ्चालन गर्न नपाइने स्पष्ट गरिएको छ। मतदानको दिन अत्यावश्यक सेवा, सुरक्षा निकाय तथा निर्वाचन आयोगको अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सबै सवारीमा पूर्ण रोक लगाइनेछ।
यस निर्णयले उपत्यकाबाट बाहिरिने तयारीमा रहेका हजारौँ यात्रु प्रभावित भएका छन्। धेरैले बुधबार नै टिकट काटेर हतार–हतार गन्तव्यतर्फ प्रस्थान गरेका छन्। व्यवसायीहरूका अनुसार अघिल्ला निर्वाचनजस्तै यसपटक पनि मतदानको भोलिपल्टबाट मात्र नियमित सेवा पुनः सञ्चालन हुने अनुमान गरिएको छ।
बैंक काउन्टर बन्द, डिजिटल सेवा चालु
निर्वाचनको दिन बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बन्द रहनेछन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरू पौडेलका अनुसार शाखा काउन्टर सेवा बन्द भए पनि डिजिटल सेवा भने नियमित सञ्चालनमा रहनेछ।
“मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवा सुचारू रहनेछन्,” उनले जानकारी दिए। आवश्यक नगद तथा डिजिटल कारोबार समयमै मिलाउन बैंकहरूले ग्राहकलाई सचेत गराएका छन्।
हवाई सेवा नियमित
स्थल यातायात बन्द रहे पनि हवाई सेवा भने पूर्ण रूपमा बन्द नहुने बताइएको छ। नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रुको उपलब्धताका आधारमा आन्तरिक उडान तालिका समायोजन हुन सक्छ, तर पश्चिम एसियाबाहेक अन्य गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरू सामान्य रहनेछन्।
उच्च सतर्कतामा सुरक्षा संयन्त्र
सरकारले देशभर उच्च सतर्कता अपनाएको छ। मतदानको दिन निजी सवारी साधनसमेत अत्यावश्यक काम र आधिकारिक अनुमति बिना सञ्चालन गर्न नपाइने भएकाले सर्वसाधारणलाई समयमै योजना बनाउन आग्रह गरिएको छ।
उपत्यकामा सार्वजनिक यातायात, बैंकिङ काउन्टर सेवा र निजी आवतजावतमा कडाइ गरिँदा बजार, कार्यालय तथा शैक्षिक संस्था पनि बन्दजस्तै हुने देखिएको छ। एक दिनका लागि राजधानी लगभग सुनसान बन्ने निश्चितजस्तै छ।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले लिइएको यस निर्णयले सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। यद्यपि यसले सर्वसाधारणको दैनिकीमा अस्थायी प्रभाव पार्ने स्पष्ट देखिएको छ।
मतदान सम्पन्न भएसँगै भोलिपल्टदेखि क्रमशः यातायात र बैंकिङ सेवा पुनः सञ्चालनमा आउने जनाइएको छ।
समाज
थप सामाग्री-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
२१ घण्टा अगाडि
1.5kViews 386 Shares Share on Facebook Share on Twitter काठमाडौँ, वैशाख २२ गते । उच्च अदालत पाटनले पशुपति क्षेत्रको महत्वपूर्ण…



