आइजिपी दान बहादुर कार्कीको कमाण्डमा हिंसामुक्त निर्वाचन, नेपाल प्रहरीको नयाँ इतिहास

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण, व्यवस्थित र हिंसामुक्त रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। विगतका निर्वाचनमा देखिएका झडप, बुथ कब्जा र मानवीय क्षतिका घटनाहरू यसपटक लगभग शून्यमा झरेका छन्, जसको श्रेय नेपाल प्रहरीको प्रभावकारी सुरक्षा रणनीतिलाई दिइएको छ।
यस सफलताको केन्द्रमा नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की को रणनीतिक नेतृत्वलाई प्रमुख रूपमा हेरिएको छ। कार्कीको स्पष्ट निर्देशन, पूर्वतयारी र कडा सुरक्षा व्यवस्थापनका कारण देशभर मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको सुरक्षा अधिकारीहरू बताउँछन्।
२०७९ सालको निर्वाचनमा बाजुरा र कालिकोट लगायतका जिल्लामा मानवीय क्षति भएको थियो भने देशभर करिब ५० स्थानमा झडपका घटना भएका थिए। तर यसपटक त्यस्ता घटनाहरू दोहोरिन नदिन प्रहरी मुख्यालयले व्यापक सुरक्षा रणनीति लागू गरेको थियो।
महानिरीक्षक कार्कीको निर्देशनमा सातै प्रदेशमा एआईजीहरूको प्रत्यक्ष परिचालन, संवेदनशील क्षेत्रको पहिचान, अतिरिक्त सुरक्षाकर्मी तैनाथी, द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) तयारी र समन्वयात्मक कमाण्ड प्रणाली लागू गरिएको थियो। परिणामस्वरूप देशभरका मतदान केन्द्रहरूमा बुथ कब्जा र झडपमुक्त वातावरण कायम रह्यो।
सुरक्षा विश्लेषकहरूका अनुसार निर्वाचन सुरक्षामा अपनाइएको यो रणनीति नेपाल प्रहरीको व्यावसायिकता र नेतृत्व क्षमताको उत्कृष्ट उदाहरण बनेको छ। विशेषगरी कार्कीले निर्वाचनअघि नै सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्दै सम्भावित जोखिमलाई समयमै नियन्त्रण गर्ने योजना लागू गरेका थिए।
यसरी प्रतिनिधिसभा निर्वाचन २०८२ लाई शान्तिपूर्ण रूपमा सम्पन्न गराएर दान बहादुर कार्की को नेतृत्वमा नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनमा नयाँ मापदण्ड स्थापित गरेको भन्दै व्यापक प्रशंसा भइरहेको छ। विश्लेषकहरूका अनुसार यो सफलता नेपाल प्रहरीको पेशागत क्षमता र नेतृत्वको दृढताको महत्वपूर्ण प्रमाणका रूपमा इतिहासमा दर्ज हुनेछ।

Facebook Comments Box
TOP
297 Shares