

पत्रकारिता कि भ्यूजको व्यापार? सनसनीपूर्ण हेडलाइन र प्रहरी संगठनमाथि ‘मिडिया ट्रायल’को बहस
काठमाडौं। पत्रकारितालाई समाजको चौथो अंग मानिन्छ। सत्य उजागर गर्ने, गलतलाई प्रश्न गर्ने र जनतालाई सही सूचना दिने यसको मूल जिम्मेवारी हो। तर पछिल्लो समय केही अनलाइन मिडियाको गतिविधि हेर्दा गम्भीर प्रश्न उठ्न थालेको छ—यो पत्रकारिता हो कि भ्यूजको व्यापार?
डिजिटल प्लेटफर्मको विस्तारसँगै क्लिक र भ्यूज बढाउने प्रतिस्पर्धा तीव्र बनेको छ। यही होडमा कतिपय अनलाइन माध्यमले तथ्य पुष्टि नभएका विषयलाई पनि सनसनीपूर्ण हेडलाइन बनाएर सार्वजनिक गर्ने प्रवृत्ति देखिन थालेको छ।
हालै केही अनलाइन मिडियाले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई ‘नसिहतसहित कारबाही सिफारिस’ गरिएको भन्दै समाचार प्रकाशित गरेका छन्। यदि कुनै प्रशासनिक प्रक्रिया अघि बढेको हो भने त्यो संस्थागत प्रणालीभित्रको सामान्य प्रक्रिया पनि हुन सक्छ। तर आधिकारिक प्रतिवेदन सार्वजनिक नहुँदै कसैको छवि धुमिल पार्ने गरी हतारमा समाचार बनाउनु पत्रकारिताको मूल मर्मसँग मेल खाने कार्य होइन।
आजको यथार्थ के हो भने केही मिडियाले समाचारलाई सत्यको खोजीभन्दा पनि भ्यूज र ट्रेन्डको व्यापार बनाउने प्रवृत्ति देखाइरहेका छन्। जसले जति कडा हेडलाइन लेख्यो र जसले जति सनसनी फैलायो, उसैले धेरै भ्यूज पाउँछ भन्ने मानसिकता पत्रकारिताको विश्वसनीयताका लागि गम्भीर चुनौती बन्दै गएको छ।
स्मरणीय कुरा के हो भने नेपाल प्रहरी कुनै मिडियाको हेडलाइनले चल्ने संस्था होइन। यो प्रमाण, प्रक्रिया र संस्थागत अनुशासनका आधारमा सञ्चालन हुने संगठन हो। तर केही समूहहरूले हेडलाइनमार्फत मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास गरिरहेका छन् भने त्यो पत्रकारिताभन्दा बढी नियतप्रेरित अभियान जस्तो देखिन्छ।
स्रोतका अनुसार, यस्ता समाचार प्रकाशित गर्ने एक अनलाइन माध्यममा एक पूर्व एआईजीको लगानी रहेको चर्चा प्रहरी वृत्तमा हुने गरेको छ। प्रहरी संगठनभित्र व्यक्तिगत सम्बन्ध र पारिवारिक मोहका कारण विगतमा पनि यस्तै गतिविधि भएको दाबी गरिन्छ। ती पूर्व एआईजी र हाल बहालवाला एक एआईजीले संगठनभित्र खेलेका कथित चलखेलबारे ‘जनरक्षा’ले सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ।
प्रहरी संगठनलाई पर्दा पछाडिबाट प्रभावित पार्ने प्रयास दीर्घकालीन रूपमा कसैका लागि पनि हितकर नहुने चेतावनी पनि दिइएको छ। संगठनको हितभन्दा व्यक्तिगत सम्बन्ध र स्वार्थलाई प्राथमिकता दिँदा त्यसको असर समग्र सुरक्षा प्रणालीमा पर्न सक्छ।
पत्रकारिता विश्वासमा टिकेको पेशा हो। यदि त्यो विश्वास भ्यूजका लागि बेचियो भने पत्रकारिता मात्र होइन, समाजको सम्पूर्ण सूचना प्रणाली नै कमजोर बन्न सक्छ।
पत्रकारिता शक्ति हो, तर त्यो शक्ति जिम्मेवारीसहित प्रयोग हुनुपर्छ। अन्यथा इतिहासले एकदिन अवश्य प्रश्न गर्नेछ—मिडिया समाजको सचेतक थियो कि सनसनीको व्यापारी?
अन्त्यमा सरोकारवालाहरूलाई स्मरण गराइएको छ—संगठनभित्र मिडिया ट्रायलको आडमा चलखेल गर्ने प्रयास अन्ततः उल्टै महँगो पर्न सक्छ। भुँइको टिप्न खोज्दा पोल्टाको खस्न सक्छ भन्ने नेपाली उखान यहाँ स्मरणीय हुन सक्छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



