प्रहरीमाथि कारबाही सिफारिसपछि पूर्व एआईजी शर्मामाथि प्रश्न: ‘कडा छवि’ बनाउने प्रयास कि निष्पक्ष निर्णय?

काठमाडौं । जेएनजी आन्दोलनपछि गठन गरिएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै आयोगका सदस्य तथा पूर्व एआईजी विज्ञानराज शर्मा विवादको केन्द्रमा आएका छन्।
आयोगले आन्दोलनका क्रममा सुरक्षाकर्मीको भूमिकाबारे टिप्पणी गर्दै केही प्रहरी अधिकारीमाथि कारबाही सिफारिस गरेको छ। तर, स्वयं लामो समय प्रहरी सेवामा रही उच्च पदसम्म पुगेका व्यक्तिले नै प्रहरीमाथि कारबाही सिफारिस गर्नु कति न्यायोचित हो भन्ने प्रश्न अहिले उठ्न थालेको छ।
प्रहरी परिचालन, भीड नियन्त्रणको संवेदनशीलता तथा त्यसबेला सुरक्षाकर्मीले भोग्नुपर्ने दबाबबारे राम्रो ज्ञान भएका व्यक्तिबाट आएको यस्तो सिफारिसको उद्देश्यबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ। केहीले यसलाई निष्पक्ष अनुसन्धानको परिणामका रूपमा लिएका छन् भने केहीले यसमा अन्य अभिप्राय जोडिएको आशंका गरेका छन्।
प्रहरी वृत्तमा भने शर्माको कदमलाई सम्भावित नियुक्तिसँग जोडेर हेर्ने गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त पद रिक्त रहेको र सोही पदमा नियुक्त हुने लक्ष्यसहित उनले ‘कडा छवि’ प्रस्तुत गर्न खोजेको आरोप स्रोतहरूले लगाएका छन्।
स्रोतका अनुसार, शर्माले पछिल्लो समय आफूनिकट व्यक्तिहरूसँग आगामी सरकार गठनपछि आफू आयुक्त बन्न सक्ने सम्भावनाबारे चर्चा गर्ने गरेको बताइएको छ। केही वृत्तमा सम्भावित राजनीतिक समीकरण, विशेषगरी बालेन नेतृत्वको सरकार बन्ने आकलनसँगै आफूलाई उक्त पदका लागि अघि सार्ने तयारी भएको दाबीसमेत गरिएको छ।

Facebook Comments Box
TOP
254 Shares