एमाले संसदीय दलको नेता बन्ने दौडमा बादल अगाडि, युवा पुस्ताको आवाज ओझेलमा

काठमाडौँ । रामबहादुर थापा ‘बादल’ नेकपा एमालेको संसदीय दलको नेता बन्ने लगभग निश्चित देखिएको छ। फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लडेका एमालेका ११ पदाधिकारीमध्ये कोही पनि विजयी हुन नसकेपछि पार्टीभित्र नयाँ समीकरण देखिएको हो।
एमाले उपाध्यक्षसमेत रहेका थापा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। १९ सदस्यीय पदाधिकारीमध्ये थापासँगै सचिव पद्यमा अर्याल पनि समानुपातिक सांसद बनेकी छन्। प्रत्यक्षतर्फ भने अध्यक्ष, महासचिव, उपाध्यक्ष, उपमहासचिव र सचिव तहका नेताहरूको हारले पार्टीभित्र नेतृत्व चयनको विषय थप पेचिलो बनेको छ।
एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जितेको छ। प्रत्यक्ष निर्वाचनमा शीर्ष नेतृत्व असफल भएपछि वरिष्ठताको आधारमा थापालाई संसदीय दलको नेता बनाउने गरी नेताहरूबीच अनौपचारिक सहमति जुट्दै गएको एक नेताले बताए।
अध्यक्ष केपी शर्मा ओली हाल पितृशोकमा रहेकाले औपचारिक छलफल सुरु नभए पनि ‘वेट’ र अनुभवका आधारमा थापा नै दलको नेता बन्ने सम्भावना बलियो रहेको ओलीनिकट स्रोतको भनाइ छ।
यता पार्टीभित्र युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवाज पनि उठेको छ। प्रत्यक्षतर्फ विजयी हुने युवा नेताहरूमा सुहाङ नेम्वाङ (इलाम–२), क्षितिज थेवे (ताप्लेजुङ), राजेन्द्र राई (धनकुटा), ऐन महर (बझाङ) लगायतका नाम चर्चामा छन्। साथै यज्ञबहादुर बोगटी, लक्ष्मीप्रसाद पोखरेल, मोहम्मद इश्तियाक राई, गणेश सिंह ठगुन्ना र अर्जुनकुमार कार्की पनि प्रत्यक्ष निर्वाचित सांसदहरूको सूचीमा छन्।
यद्यपि, युवा पुस्ताबाट नेतृत्व चयन गर्दा सकारात्मक सन्देश जाने धारणा पार्टीभित्र रहे पनि त्यसले मूर्त रूप पाउने सम्भावना कम देखिएको एक युवा सांसदको भनाइ छ। “अन्तिम निर्णय अध्यक्षकै हुने भएकाले उहाँले जसलाई रोज्नुहुन्छ, उही नेता बन्ने अवस्था छ,” उनले भने।
सचिव पद्यमा अर्यालले भने दलको नेता चयनबारे औपचारिक छलफल हुन बाँकी रहेको बताइन्। “अध्यक्ष शोकमा हुनुहुन्छ, बैठक बसेपछि मात्रै निर्णय हुन्छ। अहिले नै निश्चित केही छैन,” उनले प्रतिक्रिया दिइन्। उनले एमालेले प्रतिपक्षमा बसेर जनताको हित र राष्ट्रहितका मुद्दामा सशक्त भूमिका खेल्ने पनि स्पष्ट पारिन्।
यसैबीच, सांसद सुहाङ नेम्वाङले दलको नेताबारे अहिलेसम्म अध्यक्षसँग कुनै छलफल नभएको बताए। “हतार छैन, पार्टीले गर्ने निर्णय स्वीकार गर्छौं,” उनले भने। सुहाङ संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङका छोरा हुन् र उपनिर्वाचनमार्फत पहिलो पटक संसद प्रवेश गरेका हुन्।
नेकपा विभाजनपछि पनि रामबहादुर थापा एमालेमै रहेर अध्यक्ष केपी शर्मा ओली निकट नेताका रूपमा चिनिएका छन्। २०७८ सालको १०औँ महाधिवेशनदेखि उपाध्यक्ष बनेका थापाले ११औँ महाधिवेशनमा पनि पद जोगाएका थिए। पछिल्लो निर्वाचनमा पनि ओलीकै चाहनामा समानुपातिक सूचीमा बसेर उनले आफ्नो सांसद पद सुरक्षित गरेका थिए।
हालैको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपा राष्ट्रिय दल बनेका छन्। नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते तय गरिएको छ।
अब एमालेले संसदमा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्छ र संसदीय दलको नेतृत्व कसले सम्हाल्छ भन्ने विषयले आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।

Facebook Comments Box
TOP
279 Shares