

आन्दोलनका दुई दिन: सुदन गुरुङदेखि गृहमन्त्रीसम्म ‘हटलाइन’ जस्तो संवाद सञ्जाल
काठमाडौँ । भदौ २३ र २४ गते देशभर फैलिएको हिंसात्मक आन्दोलनका बीच सडकदेखि सत्ताको केन्द्रसम्म असामान्य रूपमा बाक्लो टेलिफोन संवाद भएको खुलासा भएको छ। अनुसन्धानका क्रममा संकलित कल डिटेल रेकर्ड (सीडीआर) र बीटीएस डाटाले देखाएअनुसार त्यो समय सुरक्षा निकाय, राजनीतिक नेतृत्व र घटनास्थलमा रहेका व्यक्तिहरूबीच निरन्तर ‘हटलाइन’ जस्तै सम्पर्क कायम थियो।
सबैभन्दा चासोको विषय बनेका छन्—सडकमा पानी बाँड्न खटिएका भनिएका सुदन गुरुङ। भदौ २४ गते तोडफोड र आगजनी भइरहेका बेला उनले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग ६ पटक र काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीसँग २ पटक फोन सम्पर्क गरेका थिए। सामान्य नागरिकको यस्तो उच्च सुरक्षा अधिकारीहरूसँगको प्रत्यक्ष संवादले घटनाको गम्भीरता र सञ्जालको जटिलता उजागर गर्छ।
उता नेपाल प्रहरीको कमाण्ड सम्हालेका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ भने दुई दिनभर अत्यन्त सक्रिय देखिन्छन्। उनले मात्रै विश्व अधिकारीसँग ४२ पटक फोन संवाद गरेका थिए। खापुङ र वर्तमान आईजीपी दानबहादुर कार्कीबीच ४ पटक कुराकानी भएको थियो भने विश्व अधिकारी र ओम राणाबीच ५३ पटक सम्पर्क भएको तथ्यले फिल्ड र कमाण्डबीचको तीव्र समन्वय देखाउँछ। सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले पनि खापुङसँग २ पटक र कार्कीसँग १ पटक सम्पर्क गरेका थिए।
यो संवाद सञ्जाल केवल सुरक्षा निकायमै सीमित रहेन। राजनीतिक नेतृत्व पनि उत्तिकै सक्रिय देखिएको छ। तत्कालीन गृहमन्त्री रमेश लेखक र उनको सचिवालय उच्च सुरक्षा संयन्त्रसँग निरन्तर सम्पर्कमा थिए। राजु अर्यालले गृहमन्त्रीका दुवै मोबाइलमा गरी ११ पटक फोन गरेका थिए भने खापुङले ८ पटक सम्पर्क गरेका थिए। गृहमन्त्रीका पीए जनक भट्टले विश्व अधिकारीलाई ४ पटक र खापुङलाई ३ पटक फोन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय पनि यो अवधिमा निरन्तर ‘लाइन’मा थियो। ओलीका पीए राजेश बज्रचार्यले गृहमन्त्री, सुरक्षा प्रमुखहरू लगायतसँग सम्पर्क राखेका थिए भने सचिवालयका विष्णु रिमालले सशस्त्र प्रहरी प्रमुख र काठमाडौँका सीडीओसँग संवाद गरेका थिए।
यी सबै संवादको केन्द्रबिन्दु भने काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल देखिएका छन्। दुई दिनमा मात्रै उनले गृह सचिव गोकर्णमणि दवाडीसँग ९ पटक, मुख्य सचिव एकनारायण अर्यालसँग ७ पटक र सह–सचिव आनन्द काफ्लेसँग १० पटक कुराकानी गरेका थिए। यसका साथै गृहमन्त्री, उनका पीए, सशस्त्र प्रहरी प्रमुख, प्रहरी अधिकारीहरू र प्रधानमन्त्रीको सचिवालयसँग समेत उनले निरन्तर सम्पर्क राखेका थिए।
सीडीआर डाटाले देखाएको यो ‘हाइ-फ्रिक्वेन्सी’ संवादले आन्दोलनको समयमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको संकेत गर्छ। तर यति व्यापक समन्वय हुँदाहुँदै पनि हिंसा नियन्त्रण किन प्रभावकारी हुन सकेन भन्ने प्रश्न भने अझै अनुत्तरित नै छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



