गृहमन्त्री गुरुङ आफैं गाडी चलाएर ललितपुर प्रहरी परिसर पुगे, रहस्य अझै खुल्न सकेन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शनिबार अप्रत्याशित रूपमा आफैं गाडी चलाएर ललितपुरस्थित प्रहरी परिसर पुगेका छन् । केहीबेरअघि मात्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरिएको जानकारी सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका गुरुङ त्यसलगत्तै प्रत्यक्ष रूपमा प्रहरी कार्यालय पुगेका हुन् ।

गृहमन्त्रीजस्तो उच्च पदस्थ व्यक्तिको बिना पूर्वसूचना यसरी आफैं सवारी साधन चलाएर प्रहरी कार्यालय पुग्नुले घटनाक्रमप्रति थप चासो र जिज्ञासा उत्पन्न गरेको छ । तर, उनी त्यहाँ किन पुगे भन्ने विषयमा हालसम्म प्रहरीले कुनै औपचारिक जानकारी दिएको छैन ।

सुरक्षा स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र उच्चस्तरीय पक्राउसँग सम्बन्धित विषयमा प्रत्यक्ष निर्देशन दिन वा अवस्था मूल्याङ्कन गर्न उनी पुगेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ ।

ओली र लेखकको पक्राउपछि देशको राजनीतिक वातावरण तातिएको बेला गृहमन्त्रीको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अब उनको ललितपुर प्रहरी परिसर भ्रमणले के संकेत गर्छ भन्नेबारे सबैको ध्यान केन्द्रित भएको छ ।

Facebook Comments Box
TOP
206 Shares