एआईजी ईश्वर कार्कीको आतिथ्यतामा गोंगबुमा क्यालेन्डर विमोचन तथा शुभकामना आदान–प्रदान सम्पन्न

काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसर पारेर काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुले भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

समुदाय–प्रहरी सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै एआईजी कार्कीले प्रहरी र नागरिकबीचको विश्वास, सहकार्य र पारदर्शिता नै प्रभावकारी शान्ति सुरक्षाको आधार भएको उल्लेख गरे।

कार्यक्रममा सहभागीहरूले नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्नुका साथै आगामी दिनमा अपराध नियन्त्रण, सामाजिक सद्भाव र सामुदायिक सुरक्षामा संयुक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुले सार्वजनिक गरेको भित्तेपात्रोमा विभिन्न जनचेतनामूलक सन्देश समेटिएको छ, जसले नागरिकलाई कानून पालनामा प्रेरित गर्ने विश्वास लिइएको छ।

यस्ता कार्यक्रमहरूले स्थानीयस्तरमा प्रहरीप्रति विश्वास बढाउने, समुदायसँगको सम्बन्ध मजबुत बनाउने र शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
210 Shares