भक्तपुरमा ‘स्विप अपरेसन’ तीव्र : एकै दिन ६० जना पक्राउ, बिस्केट जात्रा लक्षित सुरक्षा कडाइ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको ‘स्विप अपरेसन’ अन्तर्गत शनिबार एकै दिन ६० जनालाई पक्राउ गरिएको छ। जिल्लामा शान्तिसुरक्षा सुदृढ पार्ने उद्देश्यसहित सुरु गरिएको उक्त अपरेसनलाई प्रहरीले तीव्रता दिएको हो।

प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार जिल्लाका विभिन्न स्थानमा एकैसाथ परिचालन गरिएको प्रहरी टोलीले शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। “यस्ता अपरेसन विगतमा पनि सञ्चालन हुँदै आएका थिए, तर आजदेखि अझ व्यवस्थित रूपमा स्विप अपरेसन सुरु गरेका छौँ,” उनले बताए।

उनका अनुसार सार्वजनिक स्थलमा होहल्ला गर्ने, शान्तिसुरक्षा भङ्ग गर्ने, लागुपदार्थ सेवन गर्ने तथा समूहमा बसेर शङ्कास्पद गतिविधि गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये आपराधिक गतिविधिमा संलग्न नभएका व्यक्तिहरूलाई आवश्यक सोधपुछपछि छाडिने उनले स्पष्ट पारे।

प्रहरीले नजिकिँदै गरेको बिस्केट जात्रालाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ। अपरेसनले स्थानीय तहमा सुरक्षाको अनुभूति दिलाउनुका साथै जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास प्रहरीको छ।

जिल्लामा शान्ति कायम राख्न र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न यस्ता अपरेसनलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।

Facebook Comments Box
TOP
419 Shares