रुपन्देहीमा लागुऔषध नियन्त्रण अभियान: प्रहरीको गोली लागेर एक घाइते, तीन जना पक्राउ

बुटवल — रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। घाइते हुनेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन्। उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा यूपी५६एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजिएको थियो। तर उनीहरू प्रहरीबाट भाग्न खोजेपछि पछ्याउने क्रममा स्थिति तनावग्रस्त बनेको थियो।

भाग्ने क्रममा मोटरसाइकलबाट लडेका युवाहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गर्दै थप दुई राउन्ड गोली चलाएको जनाएको छ। सोही क्रममा यादव घाइते भएका हुन्।

प्रहरीले घटनास्थलबाट विशाल यादवसहित भारत, महाराजगञ्ज पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरिएको छ। प्रहरीले फेनारगन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
159 Shares