प्रहरीमा कर्मचारी भेदभावविरुद्ध कडा निर्देशन

काठमाडौं — नेपाल प्रहरी मुख्यालयले मातहतका सबै कार्यालयलाई समान व्यवहार सुनिश्चित गर्न कडा निर्देशन जारी गरेको छ। स्रोतका अनुसार, पहिचान वा पहुँच भएका कर्मचारीलाई मात्र सुविधा र लाभ उपलब्ध गराइरहेको भेदभावविरुद्ध आन्तरिक गुनासो आएपछि यो कदम चालिएको हो।
मुख्यालयले भनेको छ कि अबदेखि कार्यालयहरूले कुनै पनि कर्मचारीलाई भेदभावपूर्ण व्यवहार नगर्नुपर्ने, कर्मचारीका पिरमर्का समयमै सम्बोधन गर्नुपर्ने, र एक जना अधिकारी गुनासो सम्वोधनको लागि तोकिएको छ।
तर, हालका रिपोर्टअनुसार कतिपय कार्यालयहरूले कर्मचारीका गुनासो नसुन्ने, यथार्थ नबुझी वा एकतर्फी रूपमा निर्णय गर्ने, सिनियर अधिकृतले जुनियर कर्मचारीलाई गालीगलौज गर्ने, अपशब्द प्रयोग गरेर मनोबल गिराउने, र अभिवादन बेवास्ता गर्ने जस्ता घटना भएका छन्।
त्यस्तै, राजनीतिक पूर्वाग्रहका आधारमा काममा हठात आदेश दिने, प्रतिशोधको भावना राखेर कारबाही गर्ने, तालिम र वृत्तिविकासको अवसरमा कर्मचारीको नाम सिफारिस नगर्ने, स्केलअनुसार लत्ताकपडा र अन्य सुविधा उपलब्ध नगराउने, र टाढा–नजिक घर भएका कर्मचारीलाई भिन्न बिदा दिने जस्ता गुनासोहरू पनि प्राप्त भएका छन्।
प्रहरी मुख्यालयले स्पष्ट पारेको छ, “कर्मचारीका उजुरी तथा गुनासाहरू समयमै सम्बोधन नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत पनि उजुरी–गुनासो प्राप्त भइरहेका छन्। अतः यस्तो व्यवहार आफ्नो कार्यालय तथा मातहत कार्यालयहरूमा हुन नदिन आवश्यक व्यवस्था मिलाउन निर्देशन गरिएको छ।”

Facebook Comments Box
TOP
491 Shares