मनोहरा किनारमा सुकुम्बासी व्यवस्थापन : तनावबीच आईजीपी कार्की स्वयं फिल्डमा, संयमित ढंगले अभियान अघि बढ्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सञ्चालन भइरहेको सुकुम्बासी व्यवस्थापन अभियानअन्तर्गत मनोहरा नदी किनारमा अतिक्रमण हटाउने कार्य निरन्तर अघि बढाइएको छ।

शनिबार थापाथली र गैरीगाउँका बस्ती व्यवस्थापनपश्चात मनोहरा क्षेत्र पुगेको प्रहरी टोलीमाथि स्थानीयवासीले ढुंगामुढा प्रहार गर्दा स्थिति केही समयका लागि तनावग्रस्त बनेको थियो। उक्त घटनामा करिब एक दर्जन प्रहरी घाइते भएका थिए। अवस्था थप बिग्रन नदिन प्रहरीले संयमता अपनाउँदै त्यहाँबाट पछि हटेको थियो।

घटनापछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी आज बिहानैदेखि पुनः सो क्षेत्रमा परिचालित भएको छ। अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिँदै स्थानीयसँग समन्वय कायम गर्ने प्रयास पनि तीव्र पारिएको छ।

यसैक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की स्वयं मनोहरा क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेका छन्। उनले फिल्डमै खटिएका सुरक्षाकर्मीलाई मानवीय संवेदनशीलता कायम राख्दै संयमित र सौहार्दपूर्ण वातावरणमा काम गर्न निर्देशन दिएका छन्।

आईजीपी कार्कीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै समस्या समाधानका लागि सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले शान्तिपूर्ण ढंगले व्यवस्थापन कार्य सम्पन्न गर्न प्रहरीलाई सहयोग गर्न समेत आग्रह गरेका छन्।

प्रहरी नेतृत्व स्वयं फिल्डमा सक्रिय भएपछि सुरक्षा व्यवस्था थप सुदृढ बनेको छ भने अतिक्रमण हटाउने अभियान पनि अझ व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढिरहेको देखिएको छ।

Facebook Comments Box
TOP
491 Shares