लगातार वर्षाले बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन निर्माण जारी

काठमाडौं । लगातारको वर्षाका कारण बिपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । शनिबारदेखि अवरुद्ध भएको सडक आइतबार खोल्ने प्रयास गरिए पनि पुनः परेको वर्षाले काममा बाधा पुर्‍याउँदा समस्या थप जटिल बनेको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार आइतबार बेलुकासम्म विभिन्न स्थानमा डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको थियो। तर अपराह्न पुनः वर्षा भएपछि जोखिमलाई ध्यानमा राख्दै काम अस्थायी रूपमा रोक्नुपरेको उनले बताए ।

उनका अनुसार सोमबार बिहानदेखि पुनः डाइभर्सन निर्माण कार्य सुरु गरिएको छ। चारसयबेसी क्षेत्र बाहेक अधिकांश स्थानमा डाइभर्सन तयार भइसकेको र बिहान १० बजेसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

आइतबार आठ स्थानमा डाइभर्सन बनाएर आवागमन खुलाउने तयारी भए पनि चारसयबेसी क्षेत्रमा परेको वर्षाले काम प्रभावित भएपछि प्रक्रिया अधुरै रहन पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शनिबार दिउँसो ३ः३० बजेदेखि नै जोखिमलाई मध्यनजर गर्दै राजमार्ग बन्द गरिएको थियो। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–कटुन्जेदेखि रोशी गाउँपालिकाको मंगलटार खण्डसम्म पर्ने रोशी खोलामा आएको बाढीका कारण सडकमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
393 Shares