टिकटक प्रयोग गरी चरित्रहत्या गरेको आरोपमा तुल्सी अधिकारीविरुद्ध साइबर अपराध मुद्दा दायर

काठमाडौँ — सामाजिक सञ्जालको दुरुपयोग गरी एक पुरुष र उनको परिवारको चरित्रहत्या गरेको आरोपमा टिकटक प्रयोगकर्ता तुल्सी अधिकारीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अधिकारीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा बिहीबार अभियोग पत्र दायर गरेको हो।

अभियोगपत्र अनुसार प्रतिवादी अधिकारी लुम्बिनी प्रदेश, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल–६ की स्थायी बासिन्दा हुन्। हाल ललितपुर महानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३३ वर्षीया अधिकारी हाल चीनमा रहेको बताइएको छ। उनी ज्वेलरी डिजाइनरका रूपमा समेत परिचित छन्।

पीडित पुरुषले दिएको जाहेरीका आधारमा अधिकारीले आफ्नो टिकटक आईडी “Tulsa (Jewelry Designer)” र “ROWDYZM” मार्फत पीडितको नाम जोडेर अश्लील, अमर्यादित तथा अपमानजनक सामग्री सार्वजनिक गरेको अभियोगपत्रमा उल्लेख छ।

त्यसैगरी, सार्वजनिक गरिएका भिडियोहरूमा पीडितकी श्रीमतीलाई गम्भीर रोग लागेको भनी झुटो प्रचार गरिएको, साथै पीडितको १२ वर्षीय नाबालक छोरासमेतलाई लक्षित गरी आपत्तिजनक टिप्पणी गर्दै घृणा फैलाएको दाबी गरिएको छ।

अभियोगपत्रमा पीडितको व्यक्तिगत जीवन, शारीरिक अवस्था र पारिवारिक विषयलाई लिएर निरन्तर रूपमा लाइभ तथा भिडियो सामग्रीमार्फत अपमानजनक टिप्पणी गरिएको उल्लेख छ, जसले उनको मानमर्दन र मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको भनिएको छ।

अधिकारीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) अनुसार मुद्दा दायर गरिएको छ। सो दफा अनुसार दोषी ठहर भएमा १ लाख रुपैयाँसम्म जरिबाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

यसैगरी, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार पीडितलाई भएको मानसिक क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा रकम जम्मा गराउने मागसमेत अभियोगपत्रमा गरिएको छ।

प्रतिवादी अधिकारी हाल फरार रहेको जनाउँदै अदालतमा उपस्थित गराउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम म्याद जारी गर्न अनुरोध गरिएको छ। साथै उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत समेत पत्राचार गरिएको अभियोगपत्रमा उल्लेख छ।

Facebook Comments Box
TOP
286 Shares