आजदेखि सुरु भयो पुरुषोत्तममास : असार १ सम्म माङ्गलिक कार्य स्थगित, मच्छेनारायणमा विशेष मेला

काठमाडौँ । हरेक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा एकपटक आउने विशेष धार्मिक महिना ‘अधिकमास’ अर्थात् ‘पुरुषोत्तममास’ आजदेखि सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो महिना आगामी असार १ गतेसम्म रहनेछ।

वैदिक सनातन परम्पराअनुसार सौर र चान्द्र पात्रोबीचको समयान्तर मिलाउन अधिकमासको व्यवस्था गरिएको हो। एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपर्ने महिनालाई अधिकमास भनिन्छ। ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलका अनुसार विभिन्न शास्त्रीय ग्रन्थमा यसको स्पष्ट उल्लेख गरिएको छ।

भास्कराचार्यद्वारा रचित ‘सिद्धान्त शिरोमणि’मा उल्लेख छ–

“असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।”

यसको अर्थ, सङ्क्रान्ति नभएको महिना अधिकमास र दुईवटा सङ्क्रान्ति परेको महिना क्षयमास हो।

धर्मशास्त्रविद् एवं समितिका सदस्य देवमणी भट्टराईका अनुसार अधिकमासमा नित्य पूजा, जप, ध्यान, पाठ तथा पुरानै व्रतलाई निरन्तरता दिन शुभ मानिन्छ। तर विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहनिर्माण, नयाँ व्रत प्रारम्भ तथा अन्य माङ्गलिक कार्य गर्न निषेध गरिएको छ।

यस अवधिमा भगवान् विष्णुको विशेष आराधना गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार मलमासले भगवान् श्रीकृष्णसँग आफूलाई अशुभ मानिएको गुनासो गरेपछि श्रीकृष्णले आफ्नै नामबाट “पुरुषोत्तममास” नाम दिनुभएको ‘पुरुषोत्तममास माहात्म्य’ ग्रन्थमा उल्लेख छ। त्यसयता यो महिना विष्णुभक्तका लागि अत्यन्त पुण्यमय मानिन्छ।

काठमाडौँको दक्षिणपश्चिम क्षेत्रमा रहेको प्रसिद्ध मच्छेनारायण मन्दिरमा अधिकमास अवधिभर विशेष मेला सुरु भएको छ। रत्नपार्कबाट करिब ८ किलोमिटर दूरीमा रहेको यस धार्मिक स्थलमा लाखौँ भक्तजन दर्शनका लागि पुग्ने परम्परा छ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पुरुषोत्तममासभर नारायण पूजा, कथा वाचन तथा धार्मिक कार्यक्रम सञ्चालन हुने जानकारी दिए।

मन्दिरमा माछाको मुखबाट प्रकट भएको भगवान् मत्स्यनारायणको दुर्लभ प्रस्तर मूर्ति रहेको छ। चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको उक्त मूर्ति विशेष आकर्षणको केन्द्र मानिन्छ। पुराणअनुसार भगवान् विष्णुले दशावतारमध्ये पहिलो अवतार मत्स्यरूपमा लिएर प्रलयकालमा वेदको रक्षा गर्नुभएको विश्वास गरिन्छ।

यसअघि २०८० सालको साउन महिनामा पनि अधिकमास परेको थियो। अधिकमास अवधिभर देशभरका सनातन धर्मावलम्बीले घरघरमा ‘पुरुषोत्तममास माहात्म्य’ पाठ, कथा श्रवण तथा विष्णु आराधना गर्ने परम्परा रहँदै आएको छ।

Facebook Comments Box
सर्लाहीको हरिपुरमा दर्दनाक दुर्घटना : इँट्टाको चाङले थिचेर तीन जनाको मृत्यु, दुई घाइते
१ दिन अगाडि

1.4kViews 161 Shares Share on Facebook Share on Twitter सर्लाही । हरिपुर नगरपालिका–५, मजुर्वास्थित कृष्ण इँट्टा उद्योगमा शुक्रबार साँझ भएको…

TOP
320 Shares