

६ करोडभन्दा बढीको ‘हनी ट्र्याप’ ठगी प्रकरण: राजनीतिक नामसमेत जोडिँदै अनुसन्धान तीव्र
काठमाडौं । टिकटकर तुलसा अधिकारीसँग जोडिएको बहुचर्चित ‘हनी ट्र्याप’ तथा ठगी प्रकरणले थप गम्भीर मोड लिएको छ। अनुसन्धानका क्रममा आर्थिक लेनदेनसम्बन्धी शंकास्पद गतिविधि देखिएपछि नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य लक्ष्मी खतिवडा पनि अनुसन्धानको दायरामा तानिएकी छन्।
जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले दायर गरेको अभियोगपत्रमा खतिवडासँग सम्बन्धित वित्तीय कारोबार शंकास्पद देखिएको उल्लेख छ। अनुसन्धानका क्रममा तुलसा अधिकारीमार्फत नेलिका लामिछानेको खातामा रकम सारेर पुनः खतिवडासम्म करिब १० लाख रुपैयाँ पुगेको देखिएको छ। विभिन्न चरणमा गरी कुल ९ लाख ८७ हजार १०४ रुपैयाँ बराबरको कारोबार भएको विवरणसमेत अभियोगपत्रमा समावेश छ।
यसअघि अटोमोबाइल व्यवसायी कुमार चिमोरियाबाट ‘हनी ट्र्याप’ शैलीमा ६ करोड रुपैयाँभन्दा बढी रकम असुली गरिएको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। अभियोगपत्रअनुसार तुलसा अधिकारीले २०७५ सालमा चिमोरियासँग सम्बन्ध विस्तार गरी सोही सम्बन्धलाई आधार बनाउँदै ‘बलात्कार मुद्दा हालिदिने’ धम्की दिँदै लामो समयसम्म ब्ल्याकमेलिङ गरेको आरोप छ।
पीडित व्यवसायीले सामाजिक प्रतिष्ठा जोगाउन पटक–पटक गरी करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद, जिन्सी तथा सम्पत्ति बुझाउन बाध्य भएको दाबी गरेका छन्। पछि विभिन्न शीर्षकमा थप असुली हुँदा कुल बिगो ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ५४ पैसा पुगेको अभियोगपत्रमा उल्लेख छ।
अनुसन्धानका क्रममा सातदोबाटो र इमाडोल क्षेत्रमा पटक–पटक लाखौं रुपैयाँको लेनदेन भएको, गहना पसल खोल्न २५ लाख रुपैयाँ तिराइएको तथा कुमारीपाटीस्थित ‘तुलसा कलेक्सन प्रालि’ का लागि सजावट र भाडा शीर्षकमा करिब १५ लाख ९० हजार रुपैयाँ खर्च गराइएको विवरणसमेत खुलेको छ।
यसैबीच, सम्पत्ति शुद्धीकरणसम्बन्धी बिगो रकम २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा कायम गरिएको छ। तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण मुद्दा ललितपुर जिल्ला अदालतमा विचाराधीन छ।
प्रकरणमा नेलिका लामिछाने पक्राउपछि साधारण तारेखमा रिहा भएकी छन् भने अन्य आरोपितहरूविरुद्ध पनि कानुनी प्रक्रिया अघि बढाइएको छ।
यो घटनाले संगठित ठगी, ब्ल्याकमेलिङ र सम्भावित आर्थिक–राजनीतिक सञ्जालबारे गम्भीर प्रश्न उठाएको छ। अनुसन्धान अझै जारी रहेकाले थप तथ्यहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



