ट्रम्प–चीन निकटताले क्वाडको भविष्य अन्योलमा, सदस्य राष्ट्रहरूमा बढ्दो चिन्ता

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सम्बन्ध सुधारतर्फ सक्रिय पहल गरिरहेका बेला एसिया–प्रशान्त क्षेत्रमा चीनको प्रभाव सन्तुलन गर्न गठन गरिएको क्वाड गठबन्धनको भविष्यबारे गम्भीर प्रश्न उठ्न थालेका छन्। विश्लेषकहरूका अनुसार अमेरिकाको रणनीतिक ध्यान एसियाबाट मध्यपूर्व र पश्चिमी गोलार्द्धतर्फ सर्दै जाँदा क्वाड आफ्नो उद्देश्य र प्रभावकारितामाथि नै चुनौती सामना गरिरहेको छ।

भारत, जापान, अस्ट्रेलिया र अमेरिकाको अनौपचारिक सुरक्षा साझेदारीका रूपमा रहेको क्वाडको विदेशमन्त्रीस्तरीय बैठक मंगलबार नयाँदिल्लीमा सम्पन्न भए पनि त्यसले सदस्य राष्ट्रहरूबीच बढ्दो असहजता लुकाउन सकेन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बैठकको सुरुवाती सामूहिक तस्वीरमै सहभागी नेताहरूको शारीरिक भाषा औपचारिक र दूरीपूर्ण देखिएको थियो।

सन् २००७ मा स्थापना भई २०१७ मा पुनः सक्रिय बनाइएको क्वाडको मुख्य उद्देश्य एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्नु थियो। तर ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाले आफ्नो सामरिक प्राथमिकता क्रमशः मध्यपूर्वतर्फ केन्द्रित गरेको देखिन्छ। विशेषगरी इरानविरुद्धको सैन्य कारबाहीपछि अमेरिकाले एसियाबाट केही युद्धपोत र सैन्य स्रोतहरू हटाएर मध्यपूर्वमा केन्द्रित गरेको छ।

यस कदमले जापान, अस्ट्रेलिया र भारतजस्ता अमेरिकी साझेदार राष्ट्रहरूमा सुरक्षा सम्बन्धी चिन्ता बढाएको विश्लेषकहरू बताउँछन्। अमेरिकी सैन्य भण्डार कमजोर बन्दै गएको मूल्याङ्कन सार्वजनिक भइरहेका बेला ती देशहरूले अमेरिकामाथिको सुरक्षा निर्भरता पुनः समीक्षा गर्न थालेका छन्।

यता ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सम्बन्ध सुधारका संकेत देखिन थालेका छन्। व्यापारिक सहमति, कूटनीतिक संवादको विस्तार तथा करिब एक दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमणले क्वाड सदस्य राष्ट्रहरूलाई थप असहज बनाएको बताइन्छ।

जापान इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्सकी विश्लेषक उमी आरिगाले क्वाडको वर्तमान अवस्थालाई “ड्यामेज कन्ट्रोल” को चरणसँग तुलना गरेकी छन्। उनका अनुसार गठबन्धन पूर्ण रूपमा अप्रासंगिक बन्नुअघि त्यसलाई जोगाउने प्रयास भइरहेको जस्तो देखिन्छ।

बेइजिङस्थित राजनीतिक विश्लेषक इनार ट्याङ्गेनका अनुसार अमेरिका–चीन सम्बन्धमा आएको सुधारले क्वाडको रणनीतिक एकतालाई कमजोर बनाएको छ। चीनले अहिले क्वाडलाई स्पष्ट साझा दृष्टिकोण नभएको असमान गठबन्धनका रूपमा हेर्न थालेको उनको भनाइ छ।

विश्लेषकहरूका अनुसार क्वाडको सबैभन्दा ठूलो कमजोरी यसको संरचनागत अस्पष्टता हो। यो कुनै औपचारिक सैन्य गठबन्धन होइन। यससँग साझा रक्षा सन्धि, स्थायी सचिवालय वा बाध्यकारी सुरक्षा प्रतिबद्धता छैन। यही कारण संकटका बेला यसको वास्तविक प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ।

गत वर्ष प्रस्तावित क्वाड शिखर सम्मेलनसमेत हुन नसक्नुले गठबन्धनको अनिश्चिततालाई थप उजागर गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा ट्रम्पलाई निमन्त्रणा दिए पनि सम्मेलन अझै अनिश्चित रहेको बताइएको छ।

अमेरिकाको चीनप्रतिको नरम दृष्टिकोणले जापानमा विशेष चिन्ता बढाएको छ। जापानले रक्षा बजेट उल्लेख्य रूपमा बढाउनुका साथै अस्ट्रेलिया, फिलिपिन्स र बेलायतसँग सुरक्षा सहकार्य विस्तार गरिरहेको छ। ट्रम्प–सी भेटपछि जापानी नेतृत्वले अमेरिकी प्रशासनसँग तत्काल सम्पर्क गर्नु टोकियोको बढ्दो असुरक्षाको संकेतका रूपमा हेरिएको छ।

भारतले पनि अमेरिकामाथिको अत्यधिक निर्भरता सीमित राख्ने रणनीति अपनाउन थालेको विश्लेषण गरिएको छ। नयाँदिल्लीमा वासिङ्टनले अन्ततः बेइजिङसँग प्रत्यक्ष सहमति गर्न सक्ने र क्षेत्रीय शक्ति सन्तुलनको जिम्मेवारी भारतमाथि मात्रै छोड्न सक्ने चिन्ता बढ्दो रहेको बताइन्छ।

अस्ट्रेलियामा समेत अमेरिकी नीतिप्रति शंका बढ्दै गएको छ। व्यापारिक शुल्क, रक्षा खर्चमा दबाब तथा कूटनीतिक तनावका कारण अमेरिका आफ्ना साझेदार राष्ट्रहरूलाई रणनीतिक सहयोगीभन्दा बढी व्यापारिक दृष्टिकोणबाट हेर्न थालेको धारणा बलियो बन्दै गएको विश्लेषकहरूको निष्कर्ष छ।

यद्यपि चीनले क्वाडलाई पूर्ण रूपमा विघटन भइसकेको गठबन्धनका रूपमा भने हेरेको छैन। तर सदस्य राष्ट्रहरूभित्र दीर्घकालीन रणनीतिक साझेदारीको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको र अमेरिका–चीन सम्बन्धको बदलिँदो समीकरणले क्वाडको भविष्य थप अनिश्चित बनाएको विश्लेषकहरूको भनाइ छ। एसिया–प्रशान्त क्षेत्रको शक्ति सन्तुलनमा महत्वपूर्ण मानिएको यो समूह अब आफ्नो भूमिका र प्रभाव कायम राख्न नयाँ रणनीतिक आधार खोज्नुपर्ने दबाबमा परेको देखिन्छ।

Facebook Comments Box
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
१२ घण्टा अगाडि

1.6kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…

TOP
108 Shares