कमिसन विवादले मन्त्रालयमा कुटाकुट: सचिव र बिचौलियाबीच झडप, एक पक्राउ

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयभित्र कमिसन विवादका कारण सचिव र एक चर्चित बिचौलियाबीच झडप भएको घटना सार्वजनिक भएको छ। घटनापछि प्रहरीले बिचौलिया उपेन्द्र शाहीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रहरी स्रोतका अनुसार सोमबार साँझ मन्त्रालयमा सचिव विश्वबाबु पुडासैनी र बिचौलिया शाहीबीच पुरानो आर्थिक लेनदेन तथा कमिसन सम्बन्धी विषयमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा स्थिति झडपको अवस्थासम्म पुगेको बताइएको छ।

घटना हुँदा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ पनि सचिवको कार्यकक्षमै उपस्थित रहेको स्रोतको दाबी छ। विवाद चर्किएपछि शाहीले सचिव पुडासैनीमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरी वृत्त सिंहदरबारको टोली घटनास्थल पुगेर शाहीलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार शाहीमाथि अभद्र व्यवहारसँगै आपराधिक विश्वासघात र एक्सटोर्सन (धम्की दिएर लाभ लिन खोज्ने) सम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ। अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार सचिव पुडासैनी र शाहीबीच लामो समयदेखिको चिनजान थियो। पुडासैनी खानेपानी मन्त्रालयमा सचिव रहँदा विभिन्न ठेक्का तथा परियोजनामा दुवैबीच ‘सेटिङ’ हुने गरेको आरोप छ। मन्त्रालय पुनर्संरचनापछि खानेपानी मन्त्रालय पूर्वाधार विकास मन्त्रालयमा गाभिए पनि उनीहरूबीचको सम्बन्ध कायम रहेको बताइन्छ।

यही पुरानो आर्थिक लेनदेन र कमिसन बाँडफाँडको विषयलाई लिएर पछिल्लो विवाद उत्पन्न भएको स्रोतको दाबी छ। यद्यपि यसबारे आधिकारिक रूपमा कुनै निकायले पुष्टि गरेको छैन।

उपेन्द्र शाही उच्च प्रशासनिक वृत्तसँग निकट सम्बन्ध बनाएका विवादास्पद बिचौलियाका रूपमा चिनिन्छन्। यसअघि पनि उनी राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चक्रबहादुर बुढाको मोबाइल प्रयोग गरी व्यवसायीलाई धम्काएको आरोपमा विवादमा तानिएका थिए।

घटनाबारे प्रतिक्रिया लिन सचिव पुडासैनीलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनको प्रतिक्रिया प्राप्त हुन सकेन।

यस घटनाले सरकारी निकायभित्र हुने भनिएका बिचौलिया चलखेल, ठेक्का सेटिङ र कमिसन संस्कृतिमाथि फेरि गम्भीर प्रश्न उठाएको छ। प्रहरी अनुसन्धानले घटनाको वास्तविकता र आरोपहरूको सत्यता उजागर गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
१२ घण्टा अगाडि

1.6kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…

TOP
207 Shares