मुस्ताङमा विश्वकै ठुलो शालिग्राम शिला मूर्तिको उद्घाटन, धार्मिक पर्यटन प्रवर्द्धनको अपेक्षा

मुस्ताङ । विश्वकै सबैभन्दा ठूलो मानिएको शालिग्राम शिला मूर्ति मुस्ताङमा औपचारिक रूपमा उद्घाटन गरिएको छ । घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदी किनारमा मूर्तिकारहरूले निर्माण गरेको २२ फिट अग्लो विशाल शालिग्राम शिला बिहीबार साँझ धार्मिक विधिपूर्वक समुद्घाटन गरिएको हो ।

दक्षिण भारत कर्नाटकस्थित शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजले उक्त शिलाको उद्घाटन गरेका हुन् । मुक्तिनाथ दर्शनका लागि आएका उनले विशेष धार्मिक अनुष्ठानपछि मूर्तिको उद्घाटन गरेका थिए ।

घरपझोङ गाउँपालिका र एकीकृत सामाजिक विकास कार्यालयको संयुक्त आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा केही साताअघि मुस्ताङमा मूर्तिकला कार्यशाला सञ्चालन गरिएको थियो । सो कार्यशालामा प्रज्ञा प्रतिष्ठानमा आबद्ध करिब तीन दर्जन मूर्तिकारहरूले कालीगण्डकी नदीका ढुङ्गाहरूमा विभिन्न शिल्प र स्वरूप उत्कीर्ण गरेका थिए । तीमध्ये जोमसोममा स्थापना गरिएको शालिग्राम शिला मूर्ति सबैभन्दा ठूलो मानिएको छ ।

घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार धार्मिक र सांस्कृतिक महत्व बोकेको यस मूर्तिले मुस्ताङको धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । कार्यक्रममा उपाध्यक्ष जमुना थकालीसहित जनप्रतिनिधि, कर्मचारी, प्रमुख जिल्ला अधिकारी अजिता शर्मा तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

भारतीय जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजको मुक्तिनाथ भ्रमणका क्रममा विशेष सुरक्षा व्यवस्थासहित कार्यक्रम सम्पन्न भएको थियो । उनले मुक्तिनाथ मन्दिरमा करिब एक घण्टा पूजा–अर्चना गर्दै १०८ धारामा स्नान तथा कुण्ड दर्शनसमेत गरेका थिए ।

मुक्तिनाथ दर्शनपछि जोमसोम फर्किएका जगद्गुरु टोलीले शालिग्राम शिलाको उद्घाटन गरेसँगै स्थानीय क्षेत्रमा धार्मिक उत्साह बढेको छ । मुस्ताङमा धार्मिक गतिविधि र पूर्वाधार विकाससँगै भारतीय पर्यटक आगमन अझ वृद्धि हुने अपेक्षा गरिएको छ ।

Facebook Comments Box
TOP
462 Shares