माधवकुमार नेपालको निर्वाचन परिणामप्रति आशंका, ‘सुनामी’को टिप्पणी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा निर्वाचनको परिणामप्रति आशंका व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले रास्वपाले प्राप्त गरेको सिटलाई “सुनामी” को संज्ञा दिँदै त्यसको पछाडि विभिन्न कारण हुन सक्ने संकेत गरेका हुन्।

उनले गत प्रतिनिधि सभा निर्वाचनका क्रममा नेपाली सेना, सरकार, निर्वाचन आयोग तथा मतपत्र व्यवस्थापनको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन्। ती विषयहरू भविष्यमा विस्तारै स्पष्ट हुँदै जाने विश्वास पनि उनले व्यक्त गरे।

उनका अनुसार निर्वाचन परिणामसँग सम्बन्धित विभिन्न पक्षहरूमा भित्रैबाट समेत तथ्यहरू बाहिर आउने संकेत देखिन थालेको छ।

“यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो। यसको पछाडिका कारणहरूको खोजी पनि भइरहेको छ। बेला–बखतमा सुन्ने गर्छौं, पोल खोल्दिन्छु भन्ने कुरा त्यही भित्रका मान्छेले पनि गर्छन्—सेनाको भूमिका कस्तो रह्यो? सरकारको भूमिका कस्तो रह्यो? निर्वाचन आयोगको भूमिका कस्तो रह्यो? मतपत्रको अवस्था कस्तो रह्यो? यी सबै कुरा एक दिन खुल्दै जानेछन्,” उनले भने।

उनले निर्वाचन प्रक्रियामा उठेका प्रश्नहरू क्रमशः स्पष्ट हुँदै जाने दाबी गर्दै त्यसबारे सार्वजनिक रूपमा तथ्यहरू आउने संकेत पनि गरेका छन्।

Facebook Comments Box
TOP
314 Shares