उपत्यकामा ४०० प्रहरी कर्मचारीको एकैपटक सरुवा र अदलीबदली

काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले काठमाडौं उपत्यकामा कार्यरत ४०० जना प्रहरी कर्मचारीको एकैपटक सरुवा तथा अदलीबदली गरेको छ।

प्रहरी स्रोतका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई विभिन्न प्रहरी वृत्त, प्रभाग, ट्राफिक कार्यालय तथा अन्य सुरक्षा इकाइहरूमा नयाँ जिम्मेवारीसहित खटाइएको हो।

लामो समयदेखि एउटै कार्यालयमा कार्यरत जनशक्तिलाई कार्यक्षेत्र परिवर्तन गर्दै संगठनभित्र सन्तुलन कायम गर्ने, कार्यक्षमता अभिवृद्धि गर्ने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरुवा गरिएको बताइएको छ।

उपत्यकामा बढ्दो सुरक्षा चुनौती, अपराध नियन्त्रण तथा नागरिक सेवाप्रवाहलाई अझ सुदृढ बनाउन गरिएको यो ठूलो स्तरको अदलीबदलीलाई प्रहरी संगठनभित्र महत्वपूर्ण प्रशासनिक सुधारका रूपमा हेरिएको छ।

नयाँ कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीले सम्बन्धित स्थानमा अझ सक्रिय, जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
487 Shares