आइजीपी कार्कीद्वारा झापामा ‘JAAN 2083’ अभियान शुभारम्भ, लागूऔषधविरुद्ध व्यापक सचेतना अभियान सुरु

झापा । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा झापामा लागूऔषध नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि ‘लागू औषध विरुद्ध झापा अभियान (Jhapa Action Against Narcotics–JAAN 2083)’ शुभारम्भ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको आयोजना, जिल्ला प्रशासन कार्यालय झापाको संयोजन तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा सञ्चालित अभियानको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले शनिबार एक विशेष समारोहबीच गरेका हुन्।

झापाको बिर्तामोड नगरपालिका–६ स्थित साई पार्टी प्यालेस सिटी सेन्टरमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले पानसमा दीप प्रज्वलन गर्दै अभियानको औपचारिक शुभारम्भ गरेका थिए। “लागू औषध त्यागौं, स्वस्थ र सुरक्षित समाज निर्माण गरौं” भन्ने मूल नाराका साथ सुरु गरिएको अभियानले लागूऔषधविरुद्ध सामुदायिक सहभागिता बढाउने तथा युवापुस्तामा सचेतना फैलाउने लक्ष्य लिएको छ।

कार्यक्रमको प्रारम्भमा जिल्ला प्रहरी कार्यालय झापाले तयार पारेको लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री प्रदर्शन गरिएको थियो। त्यसपछि कदम थियटर दमकका कलाकार, जिल्ला प्रहरी कार्यालय झापा तथा विपद् व्यवस्थापन गुल्म झापाका प्रहरी कर्मचारीहरूले लागूऔषधको दुष्प्रभाव र त्यसबाट समाजमा पर्ने असरलाई केन्द्रित गर्दै चेतनामूलक नाटक तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलाडी, नागरिक समाजका अगुवा, बुद्धिजीवी, शिक्षाविद्, विद्यार्थी, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रहरीले ‘JAAN 2083’ अभियानलाई झापाभर सञ्चालन गर्दै विद्यालय, कलेज, समुदाय तथा विभिन्न सार्वजनिक स्थलहरूमा लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा सचेतना अभियान सञ्चालन गर्ने जनाएको छ।

प्रहरीका अनुसार लागूऔषधको बढ्दो प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि कानुनी कारबाहीसँगै समुदाय–आधारित सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो। अभियानले लागूऔषधमुक्त, सुरक्षित र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Facebook Comments Box
TOP
435 Shares