महोत्तरीमा जाडो छल्न धमाधम विद्यालय बिदा

सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् ।जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले  पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना गरेका छन् । त्यसैगरी मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा  सोनमा गाउँपालिकाले पनि आजदेखि २२ गतेसम्म चार दिन बिदा दिने सूचना जारी गरेका छन् । यसअघि गत आइतबार नै मनराशिशवा र रामगोपालपुर नगरपालिकाले पुस २२ गतेसम्मको बिदा सूचना गरेका थिए । जिल्लाका १५ स्थानीय तहमध्ये ११ ले विद्यालयमा जाडो बिदाको सूचना जारी गरिसकेका छन् ।स्याँठ चल्न थालेपछि विद्यालय केही दिनका लागि बिदा दिन परेको ती स्थानीय तहका कार्यालयले जारी गरेका सूचनामा उल्लेख छ ।

जिल्लाका बर्दिबास र गौशाला नगरपालिका तथा महोत्तरी र एकडारा गाउँपालिकामात्र यस्तो सूचना निकाल्न बाँकी छन् । चार स्थानीय तहले बिदा सूचना जारी नगरी सके पनि त्यहाँका विद्यालयमा पनि जाडोले गर्दा विद्यार्थी उपस्थिति स्वात्तै घटेको छ । यीमध्ये महोत्तरी र एकडाराले आजै बिदा दिने सूचना जारी गर्ने तयारी गरेका बुझिएको छ ।

जिल्लामा उत्तरी क्षेत्रका बर्दिबास र गौशालाभन्दा मध्य र दक्षिणी क्षेत्रका अन्य ठाउँमा हुस्सु र स्याँठ चल्ने क्रम बढ्ता रहेको सर्वसाधारणको बुझाइ छ ।रासस

Facebook Comments Box
TOP
Shares