

माघे औँसीमा त्रिवेणी धाममा घुइँचो
कावासोती । माघे औँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन् । माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ । भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान गर्न र पूजापाठ गर्न आएका हुन् । विगत वर्षमा कोरोना महामारीले लाग्न नसकेको मेलामा यस वर्ष भने घुइँचो लागेको छ । शुक्रबारदेखिनै आएका भक्तजन त्रिवेणी धाममा दर्जनौँ मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटाएका छन् । त्रिवेणी धाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गरेको तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको मेलामा शनिबार बिहानैदेखि पूजापाठ र भजनकीर्तन गर्नेको घुइँचो लागेको हो । त्रिवेणी धामदेखि दुई किलोमिटर दक्षिण पश्चिमका सडकका किनारमा मिठाई पसल, होटल र खाद्यान्न सामग्री बिक्री गर्ने त्रिपाल टाँगेर बसेका छन् । मेलाका कारण त्रिवेणी बजार र यस आसपासका पाँच दर्जनभन्दा बढी होटल भरिभराउ छन् । नारायणी नदीका घाट स्नानका लागि व्यवस्थित गरिएको छ । नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को देखिएको छ ।मेलाको भीडभाडमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको सङ्ख्या पनि बढाइएको छ भने उद्धारका लागि सशस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको छ । माघे औँसीमा त्रिवेणी धाममा स्नान गर्न देवतासमेत आउने जनविश्वास रहेकाले औँसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहेको त्रिवेणी धामस्थित गजेन्द्रमोक्ष दिव्यधाका स्वामी कृष्ण प्रपन्नाचार्यले बताए ।स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीधाम भएकाले र महिनामा माघ श्रेष्ठ महिना भएका कारण औँसीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने र दान दिने चलन रहेको छ । स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार त्रिवेणी धाम त्रेता युगमा वाल्मीकी ऋषिको तपोभूमि, लवकुशको जन्मस्थल, सीतामाता धर्तीमा पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान ऐतिहासिक धार्मिकस्थल हो । भगवान् मुक्तिनाथको चरण पादुकास्थल पनि भएकाले यस्को ठूलो धार्मिक महत्व रहेको विश्वास गरिन्छ । परापूर्वकालमा हात्ती र गोहीको लडाइँमा भगवान् नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाएको कारण यस धामलाई गजेन्द्र मोक्ष धाम भन्ने गरिएको जनविश्वास रहँदै आएको छ । रासस
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
८ घण्टा अगाडि
1.9kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



