ललितपुर महानगरपालिकामा महर्जन को नौटङ्की

ललितपुर बैशाख ६ । ललितपुर महानगरपालिकाले कार्यालय प्रांगणमा २०७५ फागुन २२ गते ‘वाटर एटीएम’ को निर्माण गर्यो । उक्त मेसिनको उद्घाटन तत्कालीन खानेपानीमन्त्री बिना मगरले गरेकी थिइन् । तर सस्तो लोकप्रियताको लागि राखिएको ‘वाटर भेन्डिङ मेसिन’ अहिले अलपत्र अवस्थामा छ । नत त्यहाँ पानी आउँछ नत त्यहाँ सेवाग्राहिले पानी पिउन पाउँछन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको रकममा खरिद गरिएको मेसिन महानगरले प्रयोगविहिन बनाएको छ । तत्कालीन समयमा सुपिङ इन्टरनेशनले वाटर एटीएमको सञ्चालन तथा मर्मत गर्ने सम्झौैता भएको थियो । तर महानगरले मेसिन चलाउनको लागि चासो नदेखाएपनि उक्त मेसिन खिया लाग्ने अवस्थामा पुगेको हो । उक्त मेसिनको पानी प्रतिग्लास दुई रुपैयामा बेच्न सुरु गरिएको थियो । जडान गरिदिएको कम्पनीले कामदार पनि राखेको थियो । तर कार्यालय प्रागढका पानी पिउन आउँदा फोहोर र भीडभाड भएको भन्दै महानगरले उक्त मेसिन बन्द गरेको छ । पानी वितरण गर्ने यो मेसिनको फिल्टर सिस्टम भारत, अमेरिका, चीन, जर्मनी र नेपालको प्रविधिबाट बनेको हो ।त्यतिबेला दैनिक १२ घण्टा सञ्चालनमा ल्याउने भनिए पनि दुई वर्षमै मेसिन बन्द गरिएको थियो । विगत एक वर्षदेखि उक्त मेसिन बन्द छ । मेसिनको लागि ५ हजार लिटरको ट्यांकरमा पानी भण्डार गरिएको थियो । दैनिक १५ सय लिटर पानी खर्च हुने अनुमान गरिएको थियो ।
तत्कालीन समयमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले २० ठाउँमा यस्तो मेसिन राखिने बताएका थिए । तर महानगरभित्रै रहेको एउटा मेसिन समेत बिग्रिएको छ । महानगरकै बेवास्ताले उक्त मेसिन बिग्रिएको हो । यसबारे ललितपुर महानगरप्रमुख चिरिबावु महर्जनले मेसिन जस्ताको तस्तै रहेको र राखिएको ठाउँ उपयुक्त नभएकोले बन्द गरिएको बताए । उनले भने, ‘मेसिन बन्द गरिएको होइन, ठाउँ अलि नमिलेर हो अर्को ठाउँ खोजेर त्यसलाई सिफ्ट गर्छौं।’
वाटर एटिएम मात्रै होइन ललितपुर महानगर प्रागढमै किसानलाई विउ विजन बितरणको लागि राखिएको आधुनिक मेसिन समेत बन्द गरिएको छ । मेयर महर्जनले केहि समय प्रयोगमा आएपछि उक्त मेसिन पनि बन्द गर्न लगाएका हुन् ।

Facebook Comments Box
TOP
Shares