

कम लागतको छरुवा धानखेतीबाट किसान लाभान्वित
झापा । झापाको कनकाई र शिवसताक्षी नगरपालिकामा कम लागतमा हुने छरुवा धानखेतीको प्रयोग सफल भएको छ । यो प्रविधिबाट गरिएको खेतीले उल्लेखनीय लाभ हुने भएकाले किसान र विज्ञ उत्साही बनेका छन् ।कनकाई नगरपालिका–५ का ज्ञानेन्द्र शिवाकोटीले पहिलोपल्ट छरुवा धान लगाएका थिए । “डुब्नु होला, कस्तो फल्ला भनेर सुरुमा गाउँलेले सचेत गराएका थिए”, उनले भने, “अहिले खेतमा अरु प्रविधिबाट गरिएको खेतीले भन्दा बढी उत्पादन दिएको देखेपछि गाउँले हामीलाई पनि सिकाइदिनुपर्यो भन्दै धाउन थालेका छन् ।”ब्याडमा बेर्ना उमारेर रोप्ने परम्परागत प्रविधिमा नेपालमा धानखेती आधारित छ । तर छरुवा प्रविधिमा धानको बीउ (बेर्ना) रोप्ने झन्झट नै गर्न पर्दैन । सिधैँ खनजोत गरेको जमिनमा धानको बीउदानालाई मकै छरे जसरी छरिन्छ ।कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले छरुवा प्रविधिबाट गरिएको धानखेतीमा परम्परागत रोपुवा धानखेतीको तुलनामा आधा लगानीले पुग्ने बताए । “रोपुवा खेतीमा भन्दा आधा कम लगानीमै खेती हुने भएकाले छरुवा धानखेतीको फाइदै फाइदा छन्”, उनले भने, “परम्परागतरूपमा गरिँदै आएको रोपुवा विधिमै किसान अभ्यस्त भएकाले नयाँ प्रविधिमा जान केही समय लाग्छ । तथापि छरुवा प्रविधिले कम लगानीमा धेरै उत्पादन दिन्छ भन्ने कुरा हामी बुझाउने काम गर्दैछौँ ।”कनकाई नगरपालिकाका कृषि शाखाका प्रमुख ध्रुवकुमार उप्रेतीले आफ्नै खेतमा यसपालि नयाँ प्रयोगको रूपमा छरुवा धान लगाउनुभएको छ । खेतमा झुलेका धानका बाला देखेर उप्रेती दङ्ग छन् । “छरुवा धानखेतीबाट फाइदा हुन्छ भनेर किसानलाई बुझाउन अब सजिलो भएको छ”, उनी भन्छन्, “किनकि म आफैँले पनि छरुवा प्रविधिबाट धानखेती गरिरहेको छु ।”
कनकाईका धेरै किसानले उप्रेतीसँग छरुवा धानखेतीबारे जिज्ञासा राख्ने गरेका छन् । मौखिकरूपमा कुरा बुझाएरमात्र नपुग्ने भएकाले आफ्नै खेतमा लगेर अवलोकन गराएपछि किसानहरूमा नयाँ प्रविधिप्रति आकर्षण बढेको उनले बताए । एक बिघा १५ कठ्ठा जग्गामा छरुवा धान लगाएको र उत्पादन राम्रै रहेको उनले जानकारी दिए । अर्को वर्ष खेती विस्तार गरेर आठ बिघा जग्गामा छरुवा धान लगाउने सोच रहेको उप्रेती बताउनुहुन्छ । कृषि शाखाले छरुवा धानखेती गर्न इच्छुक किसानलाई परामर्श र अनुदानसमेत दिएर प्रोत्साहित गर्ने नीति लिएको जनाएको छ ।
जोत्ने, हिल्याउने, ब्याड राख्ने, बीउ काड्ने, रोप्ने र गोडमेल गर्नेलगायतका काममा बढी जनशक्ति लाग्ने भएकाले अधिकांश किसान परम्परागत धानखेती घाटादायी भएको गुनासो गर्छन् । कतिपयले महँगो खेती भएकै कारण धानखेत मासेर अन्य बाली र नगदे बालीको बगान लगाउन थालेका छन् । छरुवा धानखेतीमा कम जनशक्ति लाग्ने भएकाले किसानका लागि यो प्रविधि बरदान नै हुने विज्ञको भनाइ छ । यसबाट उत्पादनमा वृद्धि हुने र किसानको पलायन रोक्ने उनीहरू बताउँछन् ।
गौरादहको महारानीझोडा कृषि सहकारी संस्थाले जग्गा लिजमा लिएर धेरै क्षेत्रफलमा नमूनाका रुपमा छरुवा धानखेती गरिरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए । बढ्दो वैदेशिक रोजगारीका कारण युवा जनशक्ति विदेश पलायन भएको हुँदा कृषि क्षेत्रमा जनशक्तिको अभाव छ । यस्तो बेला थोरै जनशक्तिले धेरै उत्पादन हुने छरुवा धानखेतीले किसानलाई आकर्षित गरेको छ ।रासस
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



