

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा
जाडो छल्न चराहरू विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्।
मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो। सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ।
कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।
गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क छ।
जाडो छल्न र बच्चा कोरल्न चराहरूको आकर्षक गन्तव्य नेपाल हो। तर हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को सङ्ख्या घट्दो क्रममा रहेको प्रमुख गौतमले बताए।
‘नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैन,’ बर्ड वाचिङ क्याम्प कोशीटप्पुका सञ्चालक कुरमान मन्सुरीले भने, ‘नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ।’
मन्सुरीका अनुसार कोशीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ।
वातावरण पत्रकार साथै शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ।
उनका अनुसार बेतना सिमसारमा ४९ प्रजातिका ३० परिवारका चार सयको सङ्ख्यामा चरा छन्। जसमध्ये ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा हुन्छन्।
जसमध्ये खैरो टाउके फिस इगल र लेचर स्ट्रक जातका चरा आइएनसियुको खतराको सूचीमा रहेको उनले बताए। ‘कोशीटप्पुमा आउने प्रायजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्,’ उनले भने। विशेष गरी मंसिरदेखि फागुन महिनासम्म विदेशी चरा बेतना सिमसारमा बस्ने अधिकारी बताउँछन्।
उत्तरी धुर्वमा हिमपातको सुरूआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउने गर्दछन्।
बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्यांक छ।
करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्छन् ।
जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदी क्षेत्रमा नै प्रायः रहन्छन्।
जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।
दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउँछन्।
यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन्। यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश कोइली प्रजातिको हुन्छ।
नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन्। उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ।
नेपाल आउने अन्यमा चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन्।
ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि हुन्।रासस
समाज
थप सामाग्री-
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
-
राष्ट्रिय महिला अधिकार दिवसमा नविना कार्कीको शुभकामना, महिला सशक्तीकरणमा निरन्तर प्रतिबद्धता व्यक्त
-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
१ दिन अगाडि
1.3kViews 147 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा…



