साढे नौं भित्रै अफिस छिरिसक्न पुलिस हेडक्वाटरको उर्दी

काठमाडौं  साउन  ६ ।एउटा अचम्म कुरो के छ भने प्रहरीका कुनै पनि युनिटमा हाकिम फेरिएपछि के के न गरेको देखाउन फरक फरक शैली लागू गर्छन् । त्यो परम्परा नै बनेको छ । तर, समय बित्दै गर्दा पुनः पुरानै शैली अपनाउन थालिन्छ ।
हेडक्वाटरमा नयाँ आईजी फेरिएका छन् । तर, अरु आईजीपीको भन्दा केही यी आईजीपी धिरजप्रताप सिंहको कार्यशैली फरक मात्र होइन, त्यती सस्तो लोकप्रियताको पनि देखिन्न । केही गरौं भन्ने भावना बाटै ओतप्रेत भएजस्तै लाग्छ, र त आईजी सिंहबाट संगठनका सदस्यले पनि केही आश गरेको देखिन्छ ।
धिरजप्रताप सिंह प्रहरी महानिरीक्षक भएर मात्र होइन, उनका एआईजी हुँदाका आईजी बढुवाका आकांक्षी अर्थात् आफूलाई आईजीपी नियुक्त गरियोस् भनेर मुद्दा हाल्ने विश्वराज पोखरेलको रिट खारेज भएपछि धिरजप्रतापले हेडक्वाटरबाटै प्रहरी सेवा चुस्त, दुरुस्त र प्रभावकारी तुल्याउन भन्दै हेडक्वाटर भित्र साढे नौ बजे भित्र छिरीसक्नु पर्ने नियम प्रहरीका सबै दर्जालाई उर्दी जारी गरेका छन् ।
हुनत प्रहरीको सेवा भनेको चौबिसैं घन्टा हो भनिन्छ, तर एउटा संगठनको सदस्यले २४ घन्टा ड्यूटी गर्ने नभएर रोलक्रम अनुसार समय मिलाउने हो । विगतमा प्रहरी हेडक्वाटरमा कार्यरत रहनु भनेको अल्छी गर्नेहरुलाई थन्क्याउने, काम गर्ने जाँगर नहुनेहरुले समय बिताउने ठाउँका रुपमा लिइन्थ्यो तर धिरजप्रताप सिंहले प्रहरी नेतृत्व लिए पछि केही गर्नैका लागि समयको उर्दी लगाएका हुन् कि के गरौं र चर्चा कमाऊ भन्नका लागि त्यस्तो उर्दी जारी गरिएको हो ? समयले देखाउला ।
यहीबीच, २०१६ सालदेखि नियमित रुपमा प्रकाशन हुँदै आएको प्रहरी द्धैमासिक पत्रिका यतीबेला प्रकाशन हुन छाडेको छ । लगातार ६३ वर्षदेखि २ २ महिनामा छापिने पत्रिका कोभिड महामारीका कारण बन्द भइरहँदा दुई वटा आईजीपी फेरिएर तेस्रा आईजीपी आईसक्दा पनि प्रकाशन गर्नु पर्छ भन्ने तिर ध्यान दिएको पाइएन ।
६३ वर्ष विभिन्न अनुसन्धानात्मक लेख रचना, साहित्य एवम् जानकारीमुलक रोचक प्रसंग प्रकाशित हुँदै आएको प्रहरी द्धैमासिक अहिले पीडीएफ फायलका रुपमा प्रकाशन हुने गर्छ । प्रिन्ट प्रकाशन हुँदा महत्वपूर्ण एवम् विज्ञका लेखरचना उपलब्ध हुने उक्त प्रत्रिकामा अहिले भने कसले लेखिदेला भनेर कुरीबस्नु पर्ने अवस्था सम्पादक मण्डलको छ । लेखकको पनि पीडीएफ प्रकाशनलाई आफ्ना महत्वपूर्ण रचना उपलब्ध गराउने चाहाना मरेजस्तै हुन थालेको बताइन्छ ।

Facebook Comments Box
TOP
Shares