

घरदैलोमै पासपोर्ट र लाइसेन्स : सरकारको सेवा अब नागरिकको ढोकामै
काठमाडौँ । नागरिकलाई सास्तीमुक्त र छरितो सेवा दिने लक्ष्यसहित सरकारले सुरु गरेको महत्त्वाकाङ्क्षी योजना अब व्यवहारमै देखिन थालेको छ। अब राहदानी (पासपोर्ट) र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सरकारी कार्यालय धाउनुपर्ने झन्झट हट्दै गएको छ—सरकारले यी अत्यावश्यक कागजात नागरिकको घरदैलोमै पुर्याउन सुरु गरेको छ।
गत चैत १३ गते सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअनुसार १०० दिनभित्रै अत्यावश्यक सेवाहरू घरमै उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयनमा गएको हो। प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको समन्वयमा हुलाक सेवा विभागलाई सरकारी ‘कुरियर’का रूपमा सक्रिय बनाइएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई परम्परागत चिठीपत्रमा सीमित नराखी आधुनिक र प्रभावकारी ढङ्गले सरकारी कागजात ढुवानीमा प्रयोग गर्न निर्देशन दिएका छन्। यसले लामो समयदेखि सुस्त रहेको हुलाक सेवामा नयाँ ऊर्जा थप्नुका साथै राज्य र नागरिकबीचको दूरी घटाएको छ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार मकवानपुर, म्याग्दी र डडेलधुरा जिल्लामा यो सेवा परीक्षणका रूपमा सफल भइसकेको छ। सेवाग्राहीले राहदानी बनाउँदा नै आफ्नो ठेगाना उपलब्ध गराउने व्यवस्था गरिएको छ, जसअनुसार हुलाक कर्मचारीले घरमै पुगेर कागजात हस्तान्तरण गर्छन्।
म्याग्दीमा प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य स्वयं बेनी नगरपालिकाका विभिन्न वडामा पुगेर नागरिकलाई राहदानी वितरण गरेका छन्। यसबाट समय, खर्च र झन्झट घटेको भन्दै स्थानीयबाट सकारात्मक प्रतिक्रिया आएको छ।
यद्यपि भौगोलिक विकटता, जनशक्ति अभाव र व्यवस्थित ठेगाना प्रणालीको कमी जस्ता चुनौती अझै छन्। तर सरकारले चरणबद्ध रूपमा देशभर सेवा विस्तार गर्ने तयारी गरिरहेको छ। यातायात व्यवस्था विभाग र राहदानी विभागसँगको सहकार्यलाई थप सुदृढ गर्दै सेवा शुल्कमा एकरूपता ल्याउने काम पनि अघि बढाइएको छ।
यो योजना पूर्ण रूपमा कार्यान्वयनमा आएपछि एउटै कामका लागि पटक–पटक सदरमुकाम धाउनुपर्ने बाध्यता हट्नेछ भने बिचौलियाको चलखेलसमेत अन्त्य हुने अपेक्षा गरिएको छ। नागरिकमैत्री सेवातर्फ सरकारको यो कदमलाई प्रभावकारी सुधारको संकेतका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१३ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



