पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी । स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको लुलियाघुम्ती खण्ड मर्मत गरी सहज यातायात सञ्चालनको व्यवस्था मिलाएका छन्। पोखरेबगर–घोडेपानी सडकको लुलियाघुम्तीमा दुर्घटना बढ्न थालेपछि स्थानीयले श्रमदानमार्फत मर्मत गरेका हुन्।

पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ८० जनाले दुई दिन श्रमदान गरेर मर्मत गरेको पोखरेबगर युवा क्लबका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए। अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको जाली भरेर १३ घनमिटर पर्खाल निर्माण र उकालो घुम्तीमा करिब ३० मिटर दूरीमा ढुङ्गा बिछ्याइएको छ। मर्मतपछि सडकमा सहज रूपमा सवारीसाधन सञ्चालन हुन थालेको उनले बताए।अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्का, स्थानीय राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि यसै हप्ता श्रमदान अभियान सञ्चालन गरिएको थियो। सडक मर्मतका क्रममा ढुङ्गा ढुवानी, खाजा, डोजर परिचालनका लागि मुक्तिनाथ केबुलकार प्रालिबाट ५० हजार रुपैयाँ नगद र अन्य दाताबाट सामग्री सहयोग भएको छ।

लुलियाघुम्ती र हल्लेखर्क पहिरो क्षेत्रमा सडकको जीर्ण अवस्थाका कारण स्थानीयवासीका साथै घोडेपानी भ्रमणमा जाने पर्यटकलाई समस्या हुँदै आएको थियो। स्थानीय उद्यमी शिव खड्काका अनुसार पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलियाघुम्ती र हल्लेखर्क पहिरोमा सवारीसाधन उक्लन नसक्ने, बीचैमा अड्किने र दुर्घटना हुने समस्या बढेको थियो।संघीय सरकारले बजेट विनियोजन गरेको योजना कार्यान्वयनमा ढिलाइ हुँदा जोखिम बढेपछि समुदायस्तरमा श्रमदान गरेर अस्थायी रूपमा मर्मत थालिएको वडाध्यक्ष रामबहादुर खड्काले बताए।“लुलियाघुम्ती, हल्लेखर्कको सडक सुधारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले आयोजना कार्यान्वयनमा गरेको ढिलाइले दुर्घटनाको जोखिम र सास्ती बढाएको छ,” उनले भने, “जनप्रतिनिधिबाट निरन्तर ताकेता भएपछि कार्यालयले बिहीबार मात्रै तीन करोड रुपैयाँ बजेट विनियोजन भई आयोजना कार्यान्वयनका लागि ठेक्का आह्वान गरेको छ।”घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रङ्गिएको छ। कास्कीको बिरेठाँटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ। बिरेठाँटी–उल्लेरी हुँदै घोडेपानी जोड्ने नयाँ मार्ग खुलेपछि भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या रहेको स्थानीय बताउँछन्। लालीगुराँसको जङ्गल र पुनहिलबाट हिमशृङ्खला अवलोकनका लागि सवारीसाधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको घुइँचो बढेको छ।

Facebook Comments Box
TOP
15 Shares